सरकारले स्थानीय तहको चुनाव पन्छाउन खोज्यो : प्रदीप ज्ञवाली

लोकपाटी न्यूज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले स्थानीय तहको निर्वाचन पन्छाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिसअनुसार सरकारले कुनै निर्णय नगरेको बताए । उनले सरकारले स्थानीय तहको निर्वाचनलाई पन्छाउन खोजेको आशंका पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताए । समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।

‘निर्वाचन आयोगको प्रष्ट भनाइ छ– न म्याद थप गर्न सकिन्छ । न स्थानीय तहहरूले प्रयोग गर्दै आएको अधिकार अरू कसैलाई हस्तान्तरण गर्न सकिन्छ । त्यसो भएको हुनाले चुनावको विकल्प छैन । सामान्यतया निर्वाचन आयोगलाई १२० दिन चाहिन्छ चुनावको तयारीका लागि, अहिलेसम्म सरकारले निर्वाचन आयोगको सिफारिसअनुसार कुनै निर्णय गरेको छैन । के सरकारले स्थानीय तहको चुनावलाई पन्छाउन खोजेको हो ? फेरि ०५९ साल फर्काउन खोजेको हो कि गम्भीर आशंकाहरू पैदा भएका छन् । त्यो हुन पाउँदैन । त्यो हुन दिइँदैन । त्यो एकदमै गलत हुन्छ । समयमा स्थानीय तहको चुनाव हुनुपर्छ । नेकपा (एमाले)को प्रष्ट मान्यता छ,’ उनले भने ।

उनले सरकारले ललिता निवासको सरकारी जग्गा किर्ते प्रकरणका दोषीहरूलाई उम्काउने प्रपञ्च गरेको पनि आरोप लगाए ।सीआईबीले दुई वर्ष लगाएर गरेको अनुसन्धान सरकारी वकिलको कार्यालयले फिर्ता गरेर भ्रष्टाचारीहरूलाई ढाकछोप गर्न खोजेको उनले बताए । सरकारी वकिलको कार्यालयले अधिकारको दुरूपयोग गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्