एजेन्सी। विश्वमा जीवनलाई मात्रै होइन, मृत्युलाई पनि उत्तिकै महत्त्व दिने गरिन्छ। जुन देशको आर्थिक अवस्था राम्रो छ ती देशहरूमा मानिसको मृत्यु पनि सहज नै हुन्छ। तर, गरिब देशहरूमा व्यक्तिको मृत्यु भने पीडादायी हुने गरेका थुप्रै उदाहरणहरू छन्। वैज्ञानिकहरूले हालै क्वालिटी अफ डेथ एण्ड डायिङ इन्डेक्स २०२१ मार्फत विश्वमा सहज मृत्यु भएका देशहरूको बारेमा बताएका छन्।
उक्त सूची अमेरिकाको ड्युक युनिभर्सिटीले अनुसन्धानमार्फत तयार पारेको हो। यसमा विश्वभरका ८१ देशमा जिन्दगीको आखिरी दिनहरूमा हुने हेरचाहको आधारमा ए, बी, सी, डी, ई र एफ ग्रेड दिइएको छ। रिपोर्टका अनुसार केवल ६ देशलाई ए ग्रेड र २१ देशलाई एफ ग्रेड दिइएको छ। उक्त इन्डेक्सका अनुसार युनाइटेड किङडम (युके) पहिलो स्थानमा छ।
यसका साथै, आयरल्याण्ड, ताइवान, कोस्टा, रिका, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि ए ग्रेड दिइएको छ। यी देशहरूमा अन्तिम अवस्थामा पुगेका व्यक्तिहरूको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्ने गरिन्छ।
विश्वका ८१ वटा देशहरूमा प्याराग्वेलाई ८१ औँ स्थानमा राखिएको छ। यो देशमा अन्तिम अवस्थामा रहेका व्यक्तिहरूलाई सहज वातावरण प्रदान गरिँदैन। बंग्लादेश, लेबनान, ह्याती, ब्राजिल, सेनेगल, पोर्तुगल, दक्षिण अफ्रिका, आर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेशिया, इथियोपिया र इराक जस्ता देशहरुलाई एफ ग्रेड प्रदान गरिएको छ।
भारतलाई डी ग्रेड
उक्त इन्डेक्सका अनुसार भारतलाई डी ग्रेड प्रदान गरिएको छ। भारतका साथै चीन, रुस, ग्रीस, इन्डोनेशिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोलाई पनि डी ग्रेड दिइएको छ। यस्तै, अमेरिकालाई सी ग्रेड दिइएको छ। अमेरिकाका साथसाथै कोलम्बिया, म्यानमार, मेक्सिको, थाइल्याण्ड, मिस्ना, घाना, इजराइल, युगान्डा, डेनमार्क र नाइजेरियालाई सी ग्रेड प्रदान गरिएको छ।
अध्ययनमा संलग्न स्टीफन कोनरका अनुसार राम्रो ग्रेड हुने देशहरूको आर्थिक आम्दानी राम्रो छ। त्यहाँको सरकारले बाँकी देशको तुलनामा नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइएको छ। जुन देशको ग्रेड राम्रो छैन ती देशको सरकारले नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइँदैन।