मस्तिष्क सक्रिय राख्न यसरी गर्नुस् नियमित व्यायाम

Brain
लोकपाटी न्यूज
0 Shares

सामान्य भाषामा मस्तिष्कलाई दिमागका रुपमा चिनिन्छ। मस्तिष्क केन्द्रीय स्नायु प्रणालीको महत्वपूर्ण अंग हो। मस्तिष्कले केन्द्रीय स्नायु प्रणालीलाई सञ्चालन गर्छ। खप्परभित्र हुने मस्तिष्क न्यूरोनहरुबाट बनेको हुन्छ। शरीरका सम्पूर्ण प्रणाली तथा अंगहरु मस्तिष्कबाटै सञ्चालित हुन्छन्। त्यसैले मस्तिष्कलाई शरीरका प्रणाली सञ्चालन गर्ने चालक पनि भनिन्छ।

पछिल्ला वर्षहरूमा धेरै प्रगति भएता पनि मस्तिष्क अझै पनि एक जटिल र रहस्यपूर्ण अङ्ग हो जसबारे पूर्ण जानकारी प्राप्त भएको छैन। तर जति थाहा छ त्यसबारे थोरै विज्ञमात्र पूर्ण जानकार छन्। विज्ञका अनुसार मान्छेको जीवनकालभरि मस्तिष्क निरन्तर परिवर्तन भइरहन्छ। यो लचिलो र अनुकूलनशील अङ्ग हो। मान्छेको अनुभूतिले मस्तिष्कमा स्थायी परिवर्तन ल्याउन सक्छ।

यसै प्रक्रियामार्फत मानव प्रजाति परिवर्तित हुँदै र समयसँगै अनुकूलन गर्दै अघि बढिरहेको छ। मानव मस्तिष्क ब्रह्माण्डकै सबभन्दा जटिल र रहस्यमयी संरचना हो। यद्यपि मानव इतिहासमा मस्तिष्कबारे पछिल्ला दशकहरूमा वैज्ञानिकहरूले केही जानकारी हासिल गरेका छन्। जसका आधारमा मस्तिष्कलाई क्रियाशील राख्न मस्तिष्क व्यायामका पाँच विधि तल उल्लेख गरिएको छ :

मन लागेका कुरा लेखौं : मस्तिष्कको व्यायाम गर्ने सबैभन्दा सहज तरिकामध्ये लेखन पनि हो। यसकारण मनमा लागेका कुरा कपीमा लेखिहाल्नोस्। लेख्दा मस्तिष्कका दुवै भाग सक्रिय बन्नुका साथै सजीव रहन्छ। मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म लेखेको कुरा मस्तिष्कमा रहिरहन्छ। जुनसुकै उमेरमा यसले काम गर्छ। लेखाइ-पढाइले यसै पनि मस्तिष्क सक्रिय बन्ने विश्वास छ।

खाना बनाउन सिकाउने कक्षामा सहभागी बनौं : खाना बनाउँदा शरीरका कैयौँ इन्द्रियले काम गरिरहेका हुन्छन्। खाना बनाउँदा गन्ध, स्पर्श, दृष्टि र स्वाद थाहा पाउन मस्तिष्कका विभिन्न भाग सक्रिय बन्छन्। साथै, खाना बनाउँदा स्मरण शक्तिसमेत सक्रिय बन्ने मनोविद्हरूको भनाइ छ। फरक किसिमको खाना बनाउन सिक्दा स्मरण शक्ति अझै बलियो बन्ने गर्छ। यसकारण नयाँ-नयाँ खानेकुरा बनाउन सिक्न विज्ञहरूको सुझाव छ।

नयाँ-नयाँ सोख राखौं : नयाँ सीप र नयाँ-नयाँ सोख पाल्नु भनेको एक प्रकारले दिमागको व्यायाम नै हो। सृजनशील सोखहरू, जस्तै- गीत गाउनु, गीत रचना गर्नु, नाच्नु, नयाँ-नयाँ तरिकाले व्यायाम, योग गर्दा मस्तिष्कका विभिन्न भागले काम पाउँछन्। अझ वाद्यवादन बजाउन सिक्नु भनेको मस्तिष्कको फरक किसिमको व्यायाम हो। जो बच्चामा वाद्यवादनमा रुचि र सोख छ, उसले अरू बालबालिकाले भन्दा फरक तरिकाले आवाज सुन्ने विज्ञानले पुष्टि गरिसकेको छ। यसकारण तपाईंहरू पनि आजैदेखि बुन्ने, गाउने, वाद्यवादन बजाउने, घुम्ने, सामाजिक सेवालगायत सोखको विकास गर्न सक्नुहुन्छ।

कोठेपद मिलाउने कोसिस गर्नुहोस् : खेल तथा पजल मिलाउँदा ज्ञानसँगै मस्तिष्क पनि तेज बन्छ। यसले भविष्यमा हुन सक्ने बिर्सने रोगलाई पनि नियन्त्रण गर्ने विज्ञहरूको भनाइ छ। यसकारण आजैदेखि पत्रपत्रिकामा आउने कोठेपद, पजलहरू मिलाउन कोसिस गर्नुहोस्। साथै, सुकुडु, क्युब मिलाउने, चेस खेल्दा पनि मस्तिष्कको व्यायाम हुन्छ।

नयाँ-नयाँ भाषा सिक्नुहोस् : सुन्दा अचम्म लाग्न सक्छ, नयाँ भाषा सिक्दैमा कसरी मस्तिष्कलाई व्यायाम हुन्छ भनेर। तर, यो सत्य हो कि नयाँ-नयाँ भाषा सिक्दा मस्तिष्कमा उत्तेजना पैदा हुन्छ र मस्तिष्कमा रहेका सबै प्रकारका अवरोध खुल्न थाल्छन्। किनकि, भाषा सिक्दा धेरै सुन्नु, पढ्नु र लेख्नुपर्छ। जसले मस्तिष्कमा उत्तेजना पैदा गर्छ। विज्ञहरूका अनुसार धेरै भाषा जान्ने मानिसमा अल्जाइमरको जोखिमसमेत कम हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्