प्रचण्डले लिए मन्त्रीहरूका कामको जानकारी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको काम-कारबाहीबारे जानकारी लिएका छन्। प्रचण्ड पार्टीले गठन गरेको सरकार सञ्चालन संयन्त्रका अध्यक्षसमेत हुन्।

सिंहदरबारस्थित माओवादी केन्द्र दलको कार्यालयमा प्रचण्डले अहिलेसम्म भएका कामको विवरण मन्त्रीहरूबाट लिएको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका काम अझै बढी जनमुखी बनाउनेबारे छलफल केन्द्रित छ,’ मल्लले भने, ‘मन्त्रीहरूको रिपोर्ट सुनेपछि अध्यक्षले थप निर्देशन दिनुहुनेछ।’

संयन्त्रको सचिवमा नेता हरिबोल गजुरेल छन्। सरकारमा पार्टीबाट प्रतिनिधित्व गरिरहेका मन्त्री र राज्यमन्त्रीलाई संयन्त्रको सदस्यमा राखिएको छ। पछिल्ला दिन माओवादी केन्द्रका मन्त्रीहरूबाट जनताको भावना अनुसारको काम नभएको गुनासो पार्टीभित्रै उठ्न थालेपछि प्रचण्डले संयन्त्र बैठक राखेका हुन्।