चिसोबाट कसरी बच्ने ?

mausam
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। देशका विभिन्न ठाउँमा हिमपात र वर्षा भइरहेको छ। विभिन्न क्षेत्रमा भारी हिमपात र वर्षा हुँदा जनजीवन कष्टकर बनेको छ। अरू दिनको तुलनामा शुक्रबार तापक्रम घटेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार रातिदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र वाग्मती प्रदेशमा भारी हिमपात र वर्षा भएको छ। हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ। विभिन्न क्षेत्रमा मेघ गर्जनसहित चट्याङ परेको छ। महाशाखाका अनुसार लुम्बिनी प्रदेश, मधेस प्रदेशलगायतका क्षेत्रमा पानी पर्नुका साथै हावाहुरी चलिरहेको छ।

मौसमविद्का अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकाका डाँडाकाँडा, चितवन, जुम्ला, रुकुमपश्चिमलगायत क्षेत्रहरूमा भारी हिमपात भएको छ। आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ। मौसममा बदलाव आएपछि सामान्यदेखि जटिल स्वास्थ्य समस्या समेत देखिन सक्ने भएकोले चिसोबाट जोगिन जनस्वास्थ्यविद्ले सुझाएका छन्। चिसोले दम, बाथ र अन्य दीर्घ रोगीलाई असर गर्न सक्छ। त्यसैले चिसोबाट बच्न सावधानी अपनाउनुको विकल्प छैन।

जथाभाबी औषधि नखाऔं

स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या जस्तै- ज्वरो, रुघाखोकी, झाडापखाला, श्वासप्रश्वासमा समस्या, शरीर दुखाइ, निमोनिया र दमको समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। आफैँले जथाभाबी औषधि सेवन गर्नुहुँदैन। तातो पानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त खाऔं

– चिसोबाट बच्ने पहिलो उपाय भनेको शरीर पुरै ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउने नै हो। चिसोमा वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू सकेसम्म अत्यधिक चिसो हुने स्थानमा जानुहुँदैन।

– हिउँ खेल्ने र रमाइलोका लागि घुम्न जाने पर्यटकहरूमा चिसोले समस्या देखिने जोखिम बढेको छ। मौसम परिवर्तन र महामारीका कारण तुलनात्मक रूपमा सामान्य फ्लुमा पनि गम्भीर बिरामी पर्ने भएकाले सकेसम्म चिसोबाट जोगिनुपर्छ।

– यस्तै, चिसोबाट बच्न आगो, हिटर बालेर कोठा बन्द गर्दा ज्यान जाने घटना पनि बढिरहेका छन्। तसर्थ, कोठा न्यानो बनाउँदा भेन्टिलेसनको व्यवस्था गर्न छुटाउनु हुँदैन । कोठामा पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था गर्नुपर्छ।

– आगो बालेको ठाउँमा बच्चाहरूलाई एक्लै छाड्नुहुँदैन। साथै, आगो बालेर छोड्दा आगलागीको जोखिम रहने हुँदा आगो निभाएर वा सुरक्षित राखेर सुत्नुपर्छ।

– आमाको दूध खाने बच्चालाई नियमित स्तनपान गराउनुपर्छ। साथै, अन्य बालबालिका, वृद्धवृद्धा, गर्भवती र दीर्घरोगीमा खानपानको उचित व्यवस्था गर्नुपर्छ। चिसोमा सकेसम्म तातो पानी, झोलजन्य खानेकुरा र सुप पर्याप्त मात्रामा खानुपर्छ। जाडोका कारण पानी कम प्रयोगमा ल्याउँदा अन्य स्वास्थ्य समस्या निम्तिन सक्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्