देउवा ‘ब्याक’ भएपछि जिल्लियो एमाले

Deuwa oli MCC
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेबुल गर्ने आफ्नो अडानबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा ‘ब्याक’ भएपछि सत्ता गठबन्धन भत्काउने दाउ कुरेर बसेको एमाले जिल्लिएको छ।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनका दलबिच मंगलबार भएको बैठकमा बुधबारको संसदमा एमसीसी सम्झौता टेबुल गर्ने अडान लिएका थिए। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा एमसीसी टेबुल भए आफूहरुले प्रतिवाद गर्ने बताएका थिए।

सरकारले बुधबार एमसीसी टेबुल गर्ने तयारी गरे पनि संसदमा सहभागी दलहरुबिच कार्यसूचिमै सहमति जुट्न सकेको थिएन। सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको सवालमा आफू ‘अम्पायर’ मात्र भएको र राजनीतिक सहमति नजुटिकन प्रस्ताव टेबुल गर्न नसकिने बताउँदै आएका छन्। दलहरुबिच सहमति जुटाउने सभामुखले बुधबार बिहान ११ः३० मा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए।

यता माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु बुधबार बिहानैदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आन्तरिक गृहकार्यमा जुटेका छन्। माओवादी केन्द्रले संसदीय दलको बैठक नै राखेर यथास्थितिमा एमसीसी स्वीकार्न नसक्ने निर्णय लिएको छ। माओवादीले एमसीसीमा राष्ट्रिय सहमति जुट्नुपर्ने, संसदमा रहेका दलहरुबिच सहमति जुट्नुपर्ने र त्यसो नगरी जबर्जस्ती सम्झौता टेबुल गरिए गठबन्धन तोडेर विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

त्यसैगरि एकीकृत समाजवादी पनि यथास्थितिमा सम्झौता स्वीकार्न नसकिने अडानमा रहँदै आएको थियो। एकीकृत समाजवादीनिकट भातृसंगठनहरु एमसीसीको विपक्षमा सडक आन्दोलन गर्दै आएका छन्। बुधबार माओवादीनिकट वाइसियल र अखिल क्रान्तिकारीका नेता–कार्यकर्तासमेत सम्झौताको विपक्षमा सडकमा निस्किएका छन्।

एमसीसी सम्झौता र महाअभियोग प्रकरणबारे छलफल गर्न सोमबार बसेको एमाले संसदीय दलको बैठकले त्यससम्बन्धि निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। अध्यक्ष ओलीले परिस्थिति हेरेर निर्णय लिइने सांसदहरुलाई जानकारी दिएका थिए।

एमालेले एमसीसी सम्झौतामा आफ्नो कित्ता स्पष्ट गरिसकेको छैन। एमसीसीका कारण सत्ता गठबन्धनमा दरार पैदा हुने र त्यही मौकामा आफूलाई जता उभिँदा तत्काल लाभ हुन्छ, त्यतै उभिने एमालेको तयारी थियो। त्यसैले सत्ता गठबन्धनले एमसीसीबारे साझा धारणा सार्वजनिक गरेपछि मात्र आफूहरुको धारणा आउने उसले बताउँदै आएको छ।

ओलीले एमसीसीमा माओवादी केन्द्र र एकीकृत समाजवादी विपक्षमा उभिए आफूहरु पक्षमा उभिनसक्ने संकेत गरेका थिए। संसदीय दलको बैठकमा अधिकांश सांसदले एमसीसी र चोलेन्द्र नबोक्न नेतृत्वलाई सचेत गराएका थिए। तर, ओलीले गठबन्धन टुटाउन जे गर्नुपर्छ, एमालेले त्यही गर्छ भन्ने खालको जवाफ दिएर बैठक सकेका थिए।

बुधबार एमसीसी संसदमा टेबुल हुने भएपछि एमालेले दोहोरो भूमिका खेल्ने तयारी गरेको थियो। एकातिर संसद अवरुद्ध गरेजस्तो गर्ने र अर्कोतिर संसदमा एमसीसी टेबुल गर्न दिनेगरि उनले आफ्नो रणनीति तयार गरेको थियो। कांग्रेस र मधेशवादी दलको एउटा समूहले मतदान गरेर मात्र एमसीसी पारित हुन नसक्ने परिस्थितिमा आफ्ना सांसदलाई सल्लाहमै एमसीसीको पक्षमा मतदान गराएर गठबन्धन जुटाउने तहसम्म एमालेले गृहकार्य गरेको बताइन्छ।

तर, बुधबार बिहानको माओवादी संसदीय दलको बैठकले एमालेको दाउमाथि तत्कालका लागि चिसोपानी खन्याएको छ। संसदीय दलको बैठकपछि प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका प्रचण्डले गठबन्धन कायम राख्न र जबर्जस्ती एमसीसी पेश नगर्न दवाव दिएका थिए। प्रचण्डको दवावपछि देउवा तत्कालका लागि एमसीसी टेबुल गर्ने अडानबाट ‘ब्याक’ भएका छन्।

देउवा ब्याक भएपछि गठबन्धन टुटाएर एमसीसी पास गर्ने र एक्लाएक्लै वा कांग्रेससँगको समीकरणमा चुनावमा जाने एमाले दाउ पनि तत्कालका लागि टरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्