‘पर्यटक बढाउन पञ्चासेमा पर्यापर्यटन’

Nabin poudel
लोकपाटी न्यूज
0 Shares

-नवराज पौडेल 

समाज परिवर्तन र व्यक्तिको आयमा आएको परिवर्तनसँगै घुमफिर संस्कृतिको हाल व्यापक विकास भएको पाइन्छ। आन्तरिक होस् या बाह्य पर्यटकहरू घुमफिर,पर्यावरण विचरण र पर्यापर्यटनको आनन्द लिन चाहन्छन्। प्रकृति, संस्कृति, रहनसहन र जनजीविकाका साथै परम्परागत संस्कृतिको पनि जानकारी लिन मानिसहरू घुमफिरमा निस्कने गर्दछन्। जसमा पर्यापर्यटन र ग्रामीण पर्यटनको रसास्वादन गर्न घुमफिरमा निस्कनेहरू पनि हाल क्रमिक रूपमा बढ्न थालेका छन्। प्रकृतिले नै मौसमी या ऋतु परिवर्तन चक्रका रूपमा नै विभिन्न काम गर्ने र फुर्सतमा घुमफिर गर्ने समय पनि संवत् सृजना गरेको नै छ। नेपालमा वसन्त ऋतु अत्यधिक घुमफिरको समय मानिएता पनि नेपाल बाह्रमास घुमफिरको लागि उपयुक्त मानिन्छ। विज्ञहरू हजारौँ शब्दहरूको ज्ञानभन्दा एउटा घुमफिर काफी रहने एवं शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यकै निम्ति पनि घुमफिरकै धेरै महत्त्व रहने कुरा दर्साई सकेका छन्। तसर्थ संसारमै मानिसहरू प्रकृति विचरण र घुमफिरलाई मानव जीवनको  प्राणका रूपमा लिने गर्दछन्। त्यसमा पनि प्राकृतिक सुन्दरता, स्वच्छ पर्यावरणका साथै ग्रामीण पर्यापर्यटन आम मानव समाजका अन्योन्याश्रित अभिन्नता बन्न पुगेका छन्।मानव जीवन र मानव सभ्यताको जिउने आधारशिला प्रकृति र पर्यावरण हाल मानव समुदायको पर्यटन गतिविधिको आधारशिला समेत बन्दै गइरहेको छ। प्रकृतिले सृजना गरिदिएका अविच्छिन्न जैविक विविधता, अनुपम छटाहरू र अलौंकीक सुन्दरताहरू पनि मानवीय सुन्दर जीवनका अभिन्न पाटोका रूपमा रहने गर्दछन्। प्रकृति पूजक प्राणी मानव हाल आएर प्रकृति विचरण, पर्यावरण संरक्षण र पर्यावरणमैत्री पर्यटन आयामहरूमा लाग्नुले समेत पर्यावरण र मानव समुदाय बिचको अन्योन्याश्रित पक्षलाई उजागर गरेको छ। मानव र प्रकृति बिचको अन्योन्याश्रित सम्बन्धकै कारण पनि हालको पुँजीवादी समाजको गतिशीलतामा समेत मानव सम्प्रदाय प्रकृतितर्फको झुकावमा छ र मानव गतिविधिहरू प्रकृतिमैत्री बन्दै गई रहेका छन्। मानव र प्रकृतिबिच नङ र मासुजस्तै अन्योन्याश्रितता तँ छ नै अझ हाल आएर मानवीय पर्यटन उद्धत व्यवसाय र गतिविधिहरूसमेत प्रकृतितर्फ फर्क भन्ने मान्यता र पर्यापर्यटनको मूल मान्यतामा सञ्चालन समेत हुन थाली सकेका छन्।

नेपाल आफैँमा जलस्रोत, वन जङ्गल र प्राकृतिक सम्पदाको हिसाबले भरिपूर्ण राष्ट्र हो। नेपालका प्राकृतिक सम्पदा र प्रकृतिले नै सिँगारिदिएका मनमोहक प्राकृतिक सम्पत्तिहरूले आज विश्वकै ध्यान खिचिरहेका छन्। नेपालका यस्तै उल्लेख्य प्राकृतिक सम्पत्ति हरूमध्ये कतिपय सम्पदाहरू विश्वकै ध्यानाकर्षण गर्दै विश्व सम्पदा सूचीमा समेत परेका छन् भने कतिपय सम्पदाहरू आज विश्वभरका हजारौँ पर्यटकहरूको रोजाईकन केन्द्र समेत बन्दै गई रहेका छन्। पश्चिम नेपालको पर्यटकीय राजधानी पोखरा पर्यटकीय राजधानी मात्रै नभई पर्यापर्यटनको हबका रूपमा समेत परिचित छ। सुन्दर हिमशृङ्खलाहरूको अवलोकन, ताल तलैया, छाँगा, झरना र पदयात्रा पर्यटनमार्फत प्रकृति विचरणको रसास्वादन गर्न बर्सेनि हजारौँ पर्यटकहरू पोखरा आउने गर्दछन्। पोखरा सहर मात्रै हैन हरित सहर,पर्यापर्यटन र प्राकृतिक सुन्दरताले समेत विश्वसामु परिचित छ। पोखराको समीपैमा रहेको पोखरा महानगरपालिकामा समेत पर्ने कास्की,स्याङ्जा र पर्वत जिल्लाको सङ्गमका रूपमा समेत रहेको पञ्चदासे क्षेत्र पर्यापर्यटनको अनुपम गन्तव्यका रूपमा समेत रहेको हामी सबैमाझ विदितै नै छ।

नेपालका उत्कृष्ट १०० पर्यटन गन्तव्यमा समेत पर्ने यो क्षेत्र पर्यापर्यटन र प्रकृति विचरणको हिसाबले उत्कृष्ट पर्यापर्यटन गन्तव्यमा रूपमा मानिन्छ। पुष्प वनस्पतिधारी घना बन जङ्गल, हजारौँ फूलहरू, विश्वमै दुर्लभ प्रजाति सहितका दुर्लभ सैँयौ सुनाखरीहरू, लालीगुराँसलगायत पुष्प वनस्पतिहरू यहाँका अनुपम प्राकृतिक छटाका रूपमा रहेका छन्। सूर्योदयको लाली किरणसँगै मनै लोभ्याउने सूर्योदयको दृश्य, मनमोहक र चम्किला लामो हिमशृङ्खलाहरूको अनुपम दृश्य, सुन्दर जैविक विविधता र अनुपम प्राकृतिक सुन्दरता समेत यहाँका मूल प्राकृतिक सौन्दर्य वैशिष्ट्य हुन्। धार्मिक तीर्थाटन, सिम महादेवको पूजापाठ, बाला चतुर्दशी पर्वका अवसरमा सदविज छर्ने गन्तव्यका रूपमा समेत रहेको पञ्चासेमा हजारौँ तीर्थालु भक्तजनहरू तीर्थब्रत र पूजापाठका निम्ति समेत आउने गर्दछन्। प्राकृतिक सुन्दरता मात्रै नभई सांस्कृतिक सुन्दरतायुक्त भाषा,भेसभुसा,परम्परा, रहनसहन पनि यहाँका विशेषताका रूपमा समेत रहेका छन्। गुरुङ जातिको बाहुल्य क्षेत्रका रूपमा रहेको यस क्षेत्र कला, भेसभुसा, संस्कार र संस्कृतिमा समेत अत्यन्तै धनी क्षेत्रका रूपमा मानिन्छ। समुन्द्री सतहदेखि २५१७ म उचाइमा रहेको यस क्षेत्र पदमार्ग पर्यटन र पर्यावरणमैत्री पर्यापर्यटनका हिसाबले समेत असाध्यै महत्त्वपूर्ण क्षेत्रका रूपमा मानिन्छ। पुष्प वनस्पतिधारी ५७०० हेक्टर वन क्षेत्र, अनुपम जैविक विविधता, अनेकौँ बहुमूल्य जडीबुटीहरू र बहुमूल्य जैविक सम्पदाहरू समेत यहाँको प्रसिद्धिका मूल पक्ष हुन्। प्रकृतिले सिँगारिदिएको पृथ्वीको भू स्वर्ग पञ्चासेमा पञ्चकोकी सरोबर (पञ्चदासे तालबाराही) का साथै अन्य ताल तलैया, छाँगा, झरना र प्राकृतिक पोखरी र कुवा लगायत प्रकृतिले सृजना गरिदिएका प्रकृतिका उच्चतम विशेषताहरूले समेत अझै यसको महत्त्व उजागर गरिदिएका छन्। सयौँ चराचुरुङ्गीहरूको धुन, मृगका पाटापाटीहरूको लुकामारी मात्रै नभई दर्जनौँ वन्यजन्तुहरूको क्रीडा पनि यहाँको पदमार्ग पर्यटनका मूल आकर्षण हुन्।

टलटल टल्किने हिमशृङ्खलाहरूको दृष्यपर्दामा हजारौँ रुखहरूको हरियालीले पर्दा र हरियो कार्पेट बिछ्याइएको र लालीँगुँरासको रङ्गिन फूलहरूले रङ्गीचङ्गी कलात्मक सिँगार पटार गरिरहेको दृश्यावलोकनको यो प्राकृतिक कलात्मक पक्षले कसको मन नै नरमाउला र पञ्चदासे पुग्दा। यसरी प्रकृति विचरणको हब, पर्यापर्यटनको केन्द्रका साथै प्रकृतिले सिँगारिदिएको पृथ्वीको भुस वर्ग पञ्चासेको विशिष्ट पर्यापर्यटन र जैविक,मा नवनिर्मित बैशिष्ट्यहरुलाई यसरी प्रस्तुत गरौं।

१. प्राकृतिक पदमार्ग पर्यटन (प्राकृतिक पदयात्रा )

पञ्चासे प्राकृतिक पदयात्रा पर्यटनको शिखर नै हो। २५१७ मि.उचाइमा रहेको यस जैविक विविधतायुक्त पदमार्ग गन्तव्य पञ्चासे पदमार्ग पर्यटन,हाईकिङ्ग र छोटो घुमफिरका हिसाबले समेत परिचित छ। पोखरादेखि निकट सर्ट हाईक प्लसे पञ्चासे प्राकृतिक पदयात्राको हब नै हो। पोखरादेखि २९ किमी दूरीमा पर्ने जैविक पदमार्ग गन्तव्य पञ्चासे अति मनमोहक प्राकृतिक पदयात्रा गन्तव्य पनि हो। कास्की ,स्याङ्जा र पर्वतको पर्यटकीय सङ्गम पञ्चासे तीन वटै जिल्लाका गन्तव्यहरूबाट छोटो पदयात्रा दुरीमा पुग्न सकिन्छ। आधार स्टेसनसम्म सहज यातायात सञ्जालको पहुँच भइसकेको पञ्चासे पुग्न सवारी यात्राबाट ओर्लेपछि करिब २ घण्टा सुन्दर र मनमोहक पदयात्रा दुरीमा सहजै पुग्न सकिन्छ। पदयात्रामार्फत घुमफिरको रोमाञ्चक यात्रा तय गर्न सकिने पञ्चासे पुग्ने पदयात्रा गोरेटोहरू समेत सुन्दर प्रकृतिले नै सिँगारिदिएको छ। वसन्त ऋतुको आगमनसँगै हजारौँ लालीगुराँसका थुँगाहरू हाँसी रहेको हाँसोले यो यात्रामा कसको मन पो नरमाउला र। विशिष्ट प्राकृतिक छटाहरू, पुष्प वनस्पतिहरू ,छाँगा ,छहरा, झरनाहरू, मानव अस्तित्वका सूचक छत्रे उन्यूहरू पनि पञ्चासे यात्राका प्राकृतिक सार तीहरू समेत हुन्। प्रकृतिको स्वच्छ पावनी हावालाई श्वासप्रश्वास गर्दै सुन्दर हिमशृङ्खला नियाल्दै, हरियाली बन जङ्गल र प्राकृतिक छटाहरूलाई चुम्दै अनि प्रकृतिले नै बिछ्याइदिएका सुन्दर गलैँचा हरित चउरहरूमा लडीबुडी खेल्दै अनि बनकुसुमहरु चहार्दै पञ्चासे उचाइमा पुगेर प्राकृतिक सुन्दरता नियाल्नु यहाँको मूल विशेषता नै हो।

८००० मि भन्दा अग्ला हिमालहरूको विशिष्ट सुन्दरता सहज नियाल्न सकिने यस यात्रामा कैयन जैविक विविधतायुक्त छटाहरूको समेत अवलोकन समेत गर्न सकिन्छ। शान्त र सौम्य पर्यापर्यटनको उत्कृष्ट गन्तव्य पञ्चासे घुमफिर र रमाइलोको माध्यम मात्रै नभई मानवीय स्वास्थ्यको हिसाबले समेत अति महत्त्वपूर्ण पर्यापर्यटन गन्तव्य हो। पञ्चासे युवा युवतीहरूको प्राकृतिक सुन्दरतामा माया प्रेम साँच्ने, पाकाहरूको प्रकृतिसँग बाँच्ने लीन हुने माध्यम मात्रै नभई मानव स्वास्थ्यका हिसाबले समेत उत्कृष्ट मानव प्राकृतिक चिकित्सालयका रूपमा समेत रहेको छ। पञ्चासे पदयात्रा घुमफिर र छुट्टै पृथकतायुक्त प्राकृतिक शान्त पर्यटनको माध्यम मात्रै नभई अध्ययन, अनुसन्धान र प्राकृतिक अन्वेषणको गन्तव्य पदयात्रामा समेत पर्ने गर्दछ। पर्यावरणमैत्री घुमफिरको उत्कृष्ट गन्तव्य पञ्चासे पदयात्रा आज हजारौँ विदेशी तथा स्वदेशी पर्यटकहरूको रोजाईकन महत्त्वपूर्ण गन्तव्य बन्नुले समेत पञ्चासे पदयात्राको महत्त्व र उच्च महिमा साबित गर्दछ।

विगतमा बेलायतकी महारानी एलिजाबेथ द्वितीय र प्रिन्ट चाल् सले समेत पदयात्रा मार्फत अवलोकन गरेको यो क्षेत्र घुमफिरको उच्चतम प्राकृतिक गन्तव्य हो भन्ने यसरी पनि पुष्टि हुने गर्दछ। हजारौँ तीर्थालु भक्तजनहरू, पर्यटकहरू र पर्यापर्यटन विचरकहरु यात्रामा निस्कने यो प्राकृतिक पाठशाला अध्ययन,अध्ययन भ्रमण र जैविक विविधता अवलोकनका हिसाबले समेत अति महत्त्वपूर्ण मानिन्छ। सहरी व्यस्तता, मानवीय गतिविधिको अस्तव्यस्तता र सहरी कोलाहल भुल्न प्रकृतिको सुन्दर बनावट हेर्न प्रकृतिसँगै सुस्केरा हाल्दै बन कुसुम एवं जैविक विविधतायुक्त प्राकृतिक छटाहरू हेर्दै प्रकृति सय गर्नु नै पञ्चासे पदयात्राको मूल वैशिष्ट्य हो।

२. धार्मिक तीर्थाटन

पञ्चासे हिन्दुहरूको पवित्र धार्मिक क्षेत्र पनि हो। स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार शिवजी भगवान्ले सतीदेवीलाई मृत शरीर समेत छाड्न नसकी बोकेर हिँड्दा सतीदेवीको अङ्ग समेत खसेको र पञ्चासेमा शिवजीले सत्ययुगमा पाइला पदार्पण समेत गरेको ठाउँका रूपमा समेत मानिन्छ। पितामा ताभक्त श्रवणकुमारको प्रतिमा स्थल समेत रहेको पञ्चासेमा उच्च धार्मिक आस्थायुक्त पञ्चासे शिव महादेव मन्दिर समेत रहेको छ। तपस्वी, योगी,साधु, सन्त र महात्मा हुरेल ध्यान ,योग र तपस्या गरेको कुटी,पाटी,पौवा र गुफाहरू प्रशस्त मात्रामा अवलोकन गर्न पाइने पञ्चासे धार्मिक तीर्थाटन गन्तब्यस्थलका रूपमा समेत मानिन्छ। बाला चतुर्दशी पर् बका अवसरमा पितृको सम्झनामा हजारौँ तीर्थालु भक्तजनहरूले आफ्ना पितृको सम्झनामा दबिसज छर्ने धार्मिक गन्तव्य का रूपमा समेत पञ्चासे रहिआएको छ। विभिन्न देशबाट साधु, सन्त र योगी महात्माहरू समेत आएर पञ्चासेलाई ध्यान,धर्म कर्म र योगको आधार क्षेत्र समेत बनाई रहेका छन्। सुन्दर प्राकृतिक वक्षस्थलमा रही उच्चतम आध्यात्मिक धर्मकर्महरुको विशेषता ग्रहण गर्नु पनि यहाँको मूल आकर्षणका रूपमा समेत रहिआएको छ। विज्ञानले समेत पुष्टि गर्दै आइरहेको हाम्रो पूर्वीय दर्शन र आध्यात्मिकता अध्ययन,अन्वेषणका साथै सोको नयाँ पुस्ताहरूमा सिकाई पुस्तान्तरणमय हस्तान्तरण केन्द्र पनि पञ्चासे बन्न सक्नेमा कुनै द्विविधा छैन। प्रकृति सँगै धार्मिक हिसाबले समेत पवित्र पञ्चासेमा बर्सेनि सिद्ध योगी,तपस्वी,महात्मा र महागुरुहरूले समेत यज्ञ ,महायज्ञ ,धार्मिक अनुष्ठान र अन्य धार्मिक पर्वहरू रमेलाहरु समेत लगाईराख्नुले समेत यसको धार्मिक तीर्थाटनको महत्त्वलाई अझै उजागर गरिदिएको छ।

. अनुपम जैविक विविधता

पञ्चासे सुन्दर प्रकृति र जैविक विविधताको खानी नै हो। यो उत्कृष्ट जैविक विविधता गन्तव्य पनि हो। ५७०० हेक्टर पुष्प वनस्पति धारी घना जङ्गलमा फैलिएको साथै २५१७ मि उचाइसम्म पर्ने पञ्चासे जैविक र प्राकृतिक विविधताको कुञ्ज पनि हो। विश्वमै दुर्लभ सुनाखरीहरूसहित २१७ प्रजातिका सुनाखरीहरू समेत पाइने पञ्चासे सयौं सुनौला फुलहरुको पुष्प उद्धार समेत हो। प्रकृतिले रङ्गीबिरङ्गी सिँगारिदिएका लालीगुराँस र अन्य पुष्प वनस्पतिहरूको सौन्दर्य पक्ष नै यहाँको विचित्रको प्राकृतिक चित्रकलाका रूपमा समेत हेर्न, देख्न पाइने विशेषताका रूपमा समेत रहेको छ।

पुष्प वनस्पतिको सुन्दर सजावट र बास्नादार जङ्गल मात्रै नभै प्राकृतिक औषधीय गुणयुक्त वनस्पतिहरूका कारण पनि यो प्राकृतिक चिकित्सालयका रूपमा मानिन्छ। सैँयौ चराचुरुङ्गीहरूको सुन्दर सुसेली, प्रकृतिको सुन्दर सुस्केरा र बन्यजन्तुहरुको सुन्दर क्रीडा पनि यहाँको अलौकिक प्राकृतिक विशेषता र संसाधनका रूपमा समेत रहेका छन्। विश्वले नै चुनौती ठहराएको पर्यावरणीय पक्षको संरक्षणको उत्कृष्ट नमूनाका रूपमा पनि पञ्चासे नै रहिआएको छ। प्राकृतिक छटाहरू, अनुपम जैविक विविधता युक्त जङ्गल नै पञ्चासेको मूल पहिचान र परिचायकका रूपमा समेत रहेका छन्। यहीँ जैविक ,प्राकृतिक विविधताका कारण नै पञ्चासेलाई जैविक विविधता राजधानीको रूपमा समेत लिने गरिन्छ। बहुमूल्य जडीबुटी र अमूल्य प्राकृतिक जैविक संसाधनको सदुपयोग गर्दै उच्चतम व्यावसायिकता विकास गर्न सकेका खण्डमा पञ्चासे क्षेत्र पर्यापर्यटन गन्तव्य मात्रै नभै युवा उद्गमस्थल र औद्योगिक गन्तव्य बन्न सक्नेमा कुनै द्विविधा छैन।

४. उत्कृष्ट ग्रामीण पर्यापर्यटन र आतिथ्य

पञ्चासे क्षेत्र आफैँमा पर्यापर्यटन गन्तव्य त हो नै अर्कोतर्फ विशिष्ट पर्यटन आतिथ्य गन्तव्य पनि हो। भनिन्छ पञ्चासेको पानी नै मीठो यो भनाई ले पानी मीठो भनेको हैन कि पञ्चासेको हस्पिटालिटी र अर्ग्यानिक उत्पादनको स्वादलाई पस्केको हो। कास्की,स्याङ्जा र पर्वत गरी तीन जिल्लाको सङ्गमका रूपमा पर्ने पञ्चासेको समीपमा रहेका पर्यावरणमैत्री स्मार्ट गाउँहरूले पर्यावरणीय विचरणका निम्ति आउने बाह्य र आन्तरिक आगन्तुकहरूलाई स्थानीय अर्ग्यानिक उत्पादन पस्किरहेका छन् र उच्चतम ग्रामीण आतिथ्य दिइरहेका छन्। पर्वतको चित्रेकी गुरुङ्सेनीले गुनियो चोलीधारी मन्द मुस्कानका साथ स्वागत गर्दै पञ्चासे पदयात्रामा पठाएपछि कास्कीको भदौरेकी गुरुङ्सेनीले अर्ग्यानिक स्वाद र लोकल रक्सी (नारी पा)ले थकान मेट्ने र कास्कीको सिधारेकी गुरुङ्सेनीले गुरुङ भेसभुसामा हाँसेर पञ्चासे पदयात्रामा स्वागत गर्दा पर्वतको थर्थरकी गुरुङ्सेनीले अर्ग्यानिक खानासँगै थकान मेट्ने उत्कृष्ट आतिथ्य नै यहाँको ग्रामीण पर्यटन र आतिथ्य संस्कारको उत्कृष्ट नमूना हो।

सुन्दर हरियाली जङ्गल,उत्कृष्ट हरित सुन्दरता, सुन्दर ग्रामीण जनजीवन, विशिष्ट आतिथ्य संस्कारयुक्त जनजीवन,भेसभुसा,भाषा, संस्कार र रहनसहन बोकेका र सुन्दर प्रकृतिको काखमा सञ्चालित होमस्टेहरू पनि यहाँको सुन्दर आतिथ्य विशेषताका रूपमा समेत रहेका छन्। गुरुङ महिला दिदीबहिनीहरूले सञ्चालन गरेका परम्परागत विशिष्ट मान्यतामा आधारित होमस्टेहरू र ग्रामीण आतिथ्य परम्परा पनि यहाँको उत्कृष्ट नमूना नै हो। पञ्चासे सुनाखरी पदमार्ग पर्यटनमा जाँदा कैद गर्न पाइने सुन्दर जैविक विविधताका पक्षहरू मात्रै हैन स्थानीय ग्रामीण होमस्टेहरूमा पाइने उत्कृष्ट आतिथ्य,स्वादिला अर्ग्यानिक खानाका परिकार, गाउँले रहनसहन, परम्परा ,भाषा, भेसभुसा, कला संस्कृति र संस्कार पनि यहाँका उत्कृष्ट पक्षका रूपमा समेत रहेका छन्। गुरुङ समुदायको बाहुल्यतासँगै ब्राह्मण ,क्षेत्री ,विश्वकर्मा ,सुनार लगायत जातजातिको मिश्रित बसोबास रहेको यस क्षेत्रमा कतै गुरुङ समुदायको रोदी,अर्घ,ट्होटे तँ कतै ब्राह्मण समुदायको भजन चुट्का,रत्यौली र यज्ञरयज्ञादि समेत देख्न पाईन्छ।

जात र संस्कृति विशेषका ग्रामीण आतिथ्य केन्द्र होमस्टेहरुको भ्रमण र प्राकृतिक मनोरमताको रसास्वादन नै यस क्षेत्रको मूल आतिथ्य विशेषताका रूपमा समेत रहेका छन्। कास्कीमा अन्नपूर्ण,४ भदौरे देउरालीमा रहेका गुरुङ सामुदायिक होमस्टे,तमु ज्युला होमस्टे,देउराली पञ्चासे होमस्टे, पा।म।न।पा,२३ मा रहेका साधिने सामुदायिक होमस्टे,पिस पञ्चासे होमस्टे,पञ्चासे सामुदायिक होमस्टे त्यसै गरी पर्वतमा चित्रे सामुदायिक होमस्टे,नाम्जा देउराली सामुदायिक होमस्टे ,थर्थर सामुदायिक होमस्टे पनि यहाँका पञ्चासे ग्रामीण आतिथ्य केन्द्र एवं सुन्दर आतिथ्य गन्तव्य स्थलका रूपमा समेत रहिआएका छन्। चिसो हावापानीमा उत्पादित अर्ग्यानिक खानेकुराको स्वाद लिँदै प्रकृति, प्राकृतिक छटाहरू र अनुपम जैविक विविधतासँग लुकामारी खेल्ने उत्कृष्ट पर्यटन गन्तव्यको रूपमा यहाँका होमस्टेहरू रहेका छन्। जुन आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाईकन केन्द्र समेत बन्दै आई रहेका छन्।

५. स्वतन्त्र र स्वच्छन्द विचरण

पञ्चासे प्राकृतिक सुन्दरता मात्रै नभै सानदार आध्यात्मिक पर्यटन एवं शान्त पर्यापर्यटनको केन्द्र पनि हो।आध्यात्मिकता मात्रै नभै शान्त ,सौम्य र स्वतन्त्र प्राकृतिक विचरणका निम्ति समेत पञ्चासे प्रख्यात मानिन्छ।युवापुस्ताको प्रकृति विचरण,स्वतन्त्र विचरण र शान्त पर्यापर्यटन विचरणको उत्कृष्ट गन्तव्य पञ्चासे बन्दै आइरहेको। बर्सेनि २/३ पटक पर्ने हिउँ खेल्ने मात्रै हैन, समूह भ्रमण गर्ने,जैविक विविधता अध्ययन अनुसन्धान गर्ने,क्याम्पस भिजिन गर्ने र टेन्ट आवास गर्नेहरूको पनि पञ्चासेमा बाक्लो उपस्थिति नै रहने गरेको छ।

बिहानैदेखि बेलुकीसम्म टलटल टल्किने हिमाञ्च्छिदत शिखरहरूको दृश्यावलोकन गर्दै जङ्गल घुमफिर गर्ने,छोटो पदयात्रा गर्ने, चरा र जैविक विविधता अध्ययन समेत गर्ने साथै प्रकृतिको सामीप्ययतामा सबै समस्या र तनाव भुलेर सुन्दर मुस्कान भर्ने र प्रकृतिसँगै सुस्केरा हाल्ने उत्कृष्ट गन्तव्य का रूपमा पञ्चासे रहिआएको छ। साथीभाइहरू छुट्टी मनाउने मात्रै नभई नवबिबाहिताहरु सुन्दर प्रकृतिको सामीप्ययतामा हनिमुन मनाउनेहरूको पनि पञ्चासेमा बाक्लै उपस्थिति रहने गर्दछ। प्राकृतिक सुन्दर पक्षहरूका बिच यहाँ रहेका खर्क चउरहरूमा टेन्ट खडा गरेर प्रकृतिको छाँयामा बाँस बस्नेहरू पनि प्रशस्तै भेटिन्छन्। प्रकृति ,पर्यावरण र सुन्दर ग्रामीण आतिथ्यसँगै प्रकृतिको सामीप्ययतामा सामूहिक जमघट,सामूहिक वनभोज र सामूहिक हाइकिङ गर्ने उत्कृष्ट पर्यापर्यटन गन्तव्यका रूपमा पञ्चासे रहिआएको छ।

६. योगा र अध्यात्म

पञ्चासे प्राकृतिक विशेषताको हिसाबले पनि आफैँमा योग र अध्यात्म केन्द्र पनि हो। सदियौँदेखि गुरु, सन्त ,महात्माहरूले योग, ध्यान र तपस्या गर्दै आई रहेका कुटी,पौवा र धर्मशालाहरू हाल पनि पञ्चासे क्षेत्रमा रहिआएका छन्। सहरी कोलाहलबाट मुक्ति लिन ध्यान ,योगा र मेडिटेसनको सहारा लिने मात्रै नभै प्राकृतिक चिकित्सालयका रूपमा मानिने पञ्चासेमा योगा गर्न चाहनेहरू धेरै नै छन्। सुन्दर हिमालहरूको मुस्कानसँगै, सयौँ बनकुसुमहरुको सुगन्धित पावनी श्वासप्रश्वास, चराहरूको सुमधुर सङ्गीतका बिच प्रकृतिको सुन्दर हरित गलैँचा (चउर मा)  बसेर योग र तपस्या गर्नु नै मानव रोग ,चिन्ता र समस्याहरूको निवारण गर्नु हो। हाल युवा पुस्तामा समेत योगा,ध्यान र मेडिटेसन संस्कारको सुरुवात भइरहेको सन्दर्भमा प्राकृतिक योग भूमिकै रूपमा रहेको पञ्चासेमा योगाको सहारा लिन पाउनु मानवीय मनोवैज्ञानिक सबलताको निम्ति र मानसिक स्वास्थ्यका निम्ति समेत उच्च तत् सफलताको पाटो हो। मानव जीवनको अभिन्नतासँग जोडिएको योग र अध्यात्मको अन्योन्याश्रितता निकै झाँगिएको छ। समीपैमा रहने प्रकृतिको काखमा ध्यान र योगा गर्नुको छुट्टै विशेषता रहने गर्दछ। प्राकृतिक योगा र अध्यात्म केन्द्रका रूपमा विकास भइरहेको पञ्चासे इको योगा केन्द्रका रूपमा समेत रहिआएको छ। हाल नेपालका योग गुरु डा। योगी विकासनन्द गुरु समेत यस क्षेत्रमै रहेर योग र योग अभ्यासका साथै समग्र आध्यात्मिकताको विकासमा लाग्नुले पनि पञ्चासेको योगा र आध्यात्मिकताको अथाह महत्त्वलाई अझै उजागर गरेको छ।

यसरी पोखरा नजिकैको पर्यापर्यटन हब र जैविक विविधता केन्द्र पञ्चासे नेपालकै महत्त्वपूर्ण पर्यापर्यटन गन्तव्यका रूपमा परिचित छ। पोखरा (पञ्चासे (अस्ट्रेलियन क्याम्प( पुन हिल र अन्नपूर्ण बेसक्याम्प ट्रेकलाई समेत जोडेर राउन्ड ट्रेकका रूपमा समेत विकास गर्न सकिने सम्भावना समेत प्रशस्त नै छ। पोखरा नजिकैको पर्यापर्यटन र सुन्दर पर्यटन एवं धार्मिक तीर्थाटन गन्तव्य पञ्चासेमा उचित पूर्वाधार व्यवस्थापन गर्दै उल्लेख्य पर्यटक भित्राउन सकेका खण्डमा यस क्षेत्रमा युवा स्वरोजगारी र आर्थिक विकासको जग समेत बसाउन सकिन्छ। घुमफिर पर्यटनका विभिन्न आयामहरू र पर्यटन पूर्वाधारको विकास गर्दै प्रकृतिको भू स्वर्ग पञ्चासेमा उच्चतम पर्यटन उद्धत विस्तार विकास गर्नु आजको आवश्यकता पनि हो। नजिकैको तीर्थ हेला नगरौँ पर्यापर्यटन,धार्मिक तीर्थाटन,पदमार्ग पर्यटन र ग्रामीण पर्यटन (होमस्टेका) माध्यमद्वारा पञ्चासेलाई विश्वमाझ परिचित गराउन अब ढिला नगरौँ।

लेखक पौडेल पञ्चासे क्षेत्र विकास समिति, कास्की ,स्याङ्जा र पर्वतका सदस्य सचिव हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्