एपीएफले लगातार दोस्रो पटक जित्यो ललितपुर च्याम्पियनसिपनको उपाधि

लोकपाटी न्यूज

काठमाडौं । विभागीय टोली एपीएफले लगातार दोस्रो पटक ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधि हात पारेको छ। गत संस्करणमा पनि एपिएफले सुदूरपश्चिमलाई नै हराउँदै मेयर महिला टी-२० च्याम्पियनशिपको उपाधि हात पारेको थियो।

त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि हात पारेको हो।

फाइनल खेलमा सुदूरपश्चिमले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको एपीएफले १५.५ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि ज्योति पाण्डेले सर्वाधिक ४३ रन बनाइन्। त्यस्तै, सीता राना मगरले १९ र इन्दु वर्माले अविजित २९ रन बनाएर आफ्नो टिमलाई जित दिलाइन्।

सुदूरपश्चिमका लागि बलिङमा सम्झना खड्का र लक्ष्मी साउँदले एक/एक विकेट हात लिइन्। त्यसअघि, टस हारेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १ सय १४ रन बनायो।

उसका लागि विन्दु रावलले ३७, डली भट्टले ३६, कविता कुँवरले २४ र रेवती धामीले १० रन बनाइन्। एपीएफका लागि बलिङमा शुस्मा श्रेष्ठले दुई विकेट हात पारिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्