कांग्रेस महोत्तरीको सभापतिमा यादव विजयी

लोकपाटी न्यूज
0 Shares

महोत्तरी। नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापतिमा नागेश्वर यादव विजयी भएका छन्। शुक्रबार सम्पन्न मतदानको समूहबाट उम्मेदवार रहेका यादव दोस्रो चरणमा निर्वाचनबिनै सहमतिमा विजयी भएका हुन्।

विधानअनुरुप सभापतिको शुक्रबार राती भएको गणनामा कुनै उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा अन्य दुई उम्मेदवार सुशील यादव र बजरंग नेपालीले नागेश्वर यादवलाई समर्थन गरेको हो। समर्थनसँगै उनलाई मतदानबिनै विजयी घोषणा गरियो।

विजयी यादवले खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत पाए। उनका निकटतम प्रतिस्पर्धी सुशीलकुमार यादवले ७७९ र अर्का प्रतिस्पर्धी बजरंग नेपालीले ३०६ मत प्राप्त गरे। मत गणनामा ४३ मत बदर भएको निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

सभापतिमा विजयी यादव पञ्चायतकालदेखि नै पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय थिए । यसअघि नेपाल विद्यार्थी संघको विभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका यादव दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उम्मेद्‌वार भए पनि विजयी भएका थिएनन् ।