वानडे विश्वकप : आयोजक टोली न्यूजिल्याण्डको पहिलो जित

लोकपाटी न्यूज

काठमाडौं। न्यूजिल्याण्डमा जारी आइसिसी महिला एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत घरेलु टोली न्यूजिल्याण्डले पहिला जित निकालेको छ। सोमबार भएको खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले पहिलो जित निकालेको हो।

प्रतियोगिताको पहिलो खेलमा न्यूजिल्यान्ड वेष्ट इण्डिजसँग ३ रनको झिनो अन्तरले पराजित भएको थियो। यता बंगलादेशले भने लगातार दोस्रो हार व्यहोरेको छ। पहिलो खेलमा बंगलादेश दक्षिण अफ्रिकासँग ३२ रनको पराजित भएको थियो।

सोमबार वर्षाका कारण २७ ओभरमात्र खेलाइएको खेलमा न्यूजिल्यान्डले १ सय ४१ रनको लक्ष्य २० ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो। न्यूजिल्यान्डलाई जित दिलाउन सुजी बेट्स अविजित ७९ रनको योगदान गरिन्।

अमिलिया केर ४७ रनमा अविजित रहँदा कप्तान फोसी डेलिन १४ रनमा आउट भइन्। बंगलादेशका लागि एकमात्र विकेट सलमा खातुनले लिइन्। त्यसअघि, टस हारेर पहिले ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २७ ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन बनायो।

उसका लागि फरगाना हजले सर्वाधिक ५२ रन बनाइन्। त्यस्तै, शमीमा सुल्ताननले ३३ रनको योगदान दिइन्। न्यूजिल्यान्डका लागि बलिङमा एमी साटरथ्वेटले सर्वाधिक ३ विकेट हात पारिन्। त्यस्तै, हेली जेनसेन र फ्रान्सेस म्याकीले एक/एक विकेट लिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्