चितवनमा वाटर किङडम शिलान्यास : स्थानीयवासी खुसी

लोकपाटी न्यूज
0 Shares

चितवन। चितवनको रत्ननगर ५ झुवानीमा सोमबार वाटर किङडम शिलान्यास गरिएको छ। पर्यटन विकासको आधार वाटर किङडम झुवानीमा ल्याएको भन्दै स्थानीयबासी खुसी भएर मेयर नारायण वनलाई अभिनन्दन गरेका छन्। झुवानीको आर्थिक विकास र परिचित गराउने गरी वाटर किङडम निर्माण गर्न लागेको भन्दै स्थानीयबासीहरु गाउँमै मेयरलाई स्वागत तथा अभिनन्दन गरेका हुन।

रत्ननगर ५ झुवानीमा ३० करोडको लगानीमा वाटर किङडम निर्माण सुरु गरिएको हो। सोमबार मेयर नारायण वनले एक भव्य समारोहकाबीच शिलान्यास गरेसङै निर्माणको काम सुरु भएको छ। झुवानी माविले संरक्षण गर्दै आएको तीन विगहा क्षेत्रफलमा सार्वजनिक निजी साझेदारीमा वाटर किङडम निर्माण सुरु गरिएको मेयर वनले बताए।

पहिलो चरणमा ९ करोड ७९ लाखमा ठेक्का सम्झौता भई काम सुरु भएको छ। नेपाल सरकारको ४ करोड ५५ लाख र नगरपालिकाको ५ करोड २४ लाखको लगानी रहेको छ। सरकारी लगानी बाहेक वाटर किङडम निर्माण,सञ्चालन र व्यवस्थापन गर्ने गरी शेयर लगानी खुल्ला गरिएको मेयर वनले बताए। वाटर किङडमप्रति स्थानीयवासीको अपनत्व बढाउन एक घर एक शेयरको अवधारण ल्याइएको छ।

पहिलो वडा बासी,दोस्रो नगर बासी र त्यसपछि मात्र बाहिरका मान्छेका लागि शेयर खुल्ला गरिने छ। वाटर किङडम निर्माणको लागि झुवानी माविसङ २५ वर्षको लागि जग्गा भाडामा लिइएको छ। प्रतिकण्ठ प्रतिबर्स ६ हजार भाडा निर्धारण गरी नगरपालिका र विद्यालय बिच सम्झौता गरिएको छ।वाटर किङडममा तीन वटा कृत्रिम पोखरी, स्विमिङ पुल, ६० देखि ६५ मिटरको ६ वटा चिप्लेटी, पानी डान्स (हलभित्र कृत्रिम हिउँ पार्ने), गर्मी छल्न हलभित्र कृत्रिम हिउँ, रोटे पीङलगायतका आकर्षक पूर्वाधार निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए।

वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेश गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना रहेको छ। वडा नं ५ का वडाध्यक्ष कृष्ण महतोले वाटर किङडम हाम्रो हो भन्ने आत्मविश्वास बढाउन एक घर एक शेयरको अवधारण अघि सारिएको बताए। पैसा हुनेले सजिलै शेयर हाल्नु हुन्छ उनले भने नहुनेलाई हामी काम दिन्छौँ त्यहीबाट आएको पैसा शेयर हाल्न लगाउँछौँ। पर्यटक आर्कषणको केन्द्रको रूपमा लिइएको वाटर किङडम बन्ने भएपछि स्थानीयबासीहरु खुसी भएका छौँ। ६० बर्सपछि झुवानीमा खुसी फर्किएको छ स्थानीय रामचन्द्र चौधरीले भने झुवानी ६० वर्ष पहिले जिल्लाको सदरमुकाम थियो,अब वाटर किङडमले झुवानीलाई चिनाउने छ।

कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ,वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल,एमालेका नगर अध्यक्ष ईश्वरीप्रसाद अर्याल,नेपाली कांग्रेसका नगर सभापति प्रल्हाद सापकोटा,माओवादी केन्द्रका श्याम प्रसाद बराल,एकीकृत समाजवादी नगर कमिटी अध्यक्ष बद्रीनाथ घिमिरे,क्षेत्रीय होटेल संघ चितवनका अध्यक्ष दीपक भट्टराई,झुवानी माविका पूर्व अध्यक्ष जोगेन्द्र महतो लगायतले मन्तव्य राखेका थिए। कार्यक्रम वडा सचिव सङ्कर बहादुर गिरीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्