विश्व कम्युनिष्ट आन्दोलन र साम्यवाद

Communist Party Flag
लोकपाटी न्यूज
0 Shares
  • मिलन आफन्त

वर्तमानमा विश्व कम्युनिष्ट आन्दोलन अलि फिका देखिए पनि विगतमा विश्व कम्युनिष्ट आन्दोलन घनिभूत ढंगले अघि बढेको थियो भने विश्व कम्युनिष्ट आन्दोलनको भविष्य पनि अत्यन्तै उज्ज्वल छ भन्दा अत्युक्ति नहोला। समय परिवर्तनशील छ, वर्तमानमा पुँजीवादी व्यवस्था हाबी देखिए पनि निकट भविष्यमै विश्व कम्युनिष्ट आन्दोलन सफल हुने कुरामा कुनै शंका छैन। हामीलाई थाहै छ, विश्व इतिहासलाई फर्केर हेर्दा हामीले आदिम साम्यवादी युग, दासयुग, सामन्तवादी युगलाई परास्त गरिसकेका छौं। तसर्थ पनि पुँजीवादी व्यवस्थाको विकल्पमा साम्यवादी व्यवस्थाले यो विश्वमा विजय हासिल गर्ने छ भन्ने कुरामा हामी कम्युनिष्टहरु एक मत छौं।

आज विश्व जसरी तेस्रो सहस्राब्दी र २१ औं शताब्दीमा प्रवेश गरेको छ। त्यसरी नै विश्व कम्युनिष्ट आन्दोलन पनि तेस्रो सहस्राब्दी र २१ औं शताब्दीमा प्रवेश गरेको छ। तर वर्तमानको २१ औं शताब्दीमा विश्व कम्युनिष्ट आन्दोलनको स्थिति फिका भएपनि कम्युनिष्टहरुको भविष्य हामीले उज्ज्वल देखिरहेका छौं। वर्तमान शताब्दीमा पुँजीवाद जसरी मौलाएको देखिन्छ, त्यसरी नै पुँजीवादले संकट पनि व्यहोरिरहेको छ। आर्थिक मन्दीले विश्व पुँजीवाद छट्पटाइरहेको देखिन्छ भने मार्क्सवादी अर्थतन्त्रप्रति मानिसहरूको आकर्षक बढेको पाइन्छ। कुनै पनि व्यवस्थाले सधैँ आफ्नो आधिपत्य राख्न सक्दैन तसर्थ पनि यो विश्वमा साम्यवाद अपरिहार्य छ।

२० औं शताब्दीमा विश्व कम्युनिष्ट आन्दोलनको अत्यन्तै ठूला, महान र ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको थियो। त्यही कालमा नै विश्व सर्वहारा वर्गका लेनिन, स्टालीन र माओ जस्ता महान् नेताहरू विश्व कम्युनिष्ट आन्दोलनमा पैदा भएका थिए। विश्व कम्युनिष्ट आन्दोलनमा हजारौं विश्व नेताहरू सहभागी भएका थिए। संसारभरि ऐतिहासिक महत्त्वका ठूला ठूला क्रान्तिकारी आन्दोलन भएका थिए र रुस, चीनसहित पूर्वी युरोप, दक्षिण पूर्वी एसिया र लेटिन अमेरिकाका कयौं देशहरूमा समाजवादी क्रान्ति सफल भएको थियो। विश्व साम्यवादतिर उन्मुख थियो।

साँचो अर्थमा भन्ने हो भने वर्तमान विश्व कम्युनिष्ट आन्दोलन अत्यन्तै कमजोर अवस्थामा अघि बढिरहेको छ। त्यसो त वर्तमानमा पनि विश्वमा कम्युनिष्टहरु क्रियाशील नभएका होइनन् तथापि यत्तिले मात्र विश्व कम्युनिष्ट आन्दोलन सफल हुने कुरामा पर्याप्त छैन। सन् १९७६ को वर्ष विश्व कम्युनिष्ट आन्दोलनका लागि दुर्भाग्यपूर्ण साबित हुन पुग्यो। त्यसै वर्ष सेप्टेम्बरमा विश्व कम्युनिष्ट आन्दोलनका महान् नेता माओवादका पर्वतक क. माओको निधन भयो। माओको निधनपछि विश्व कम्युनिष्ट आन्दोलनले आफ्नो सर्वोच्च नेता गुमाउन पर्‍यो। माओको कार्यकालमा चिनिया कम्युनिष्ट पार्टीले विश्व कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेको थियो र समाजवादी चीनले विश्व क्रान्तिको आधार इलाकाको भूमिका खेलिरहेको थियो। वर्तमान अवस्थामा विश्व कम्युनिष्ट पार्टी (साइनिंग पाथ) का अध्यक्ष गोन्जालोको गिरफ्तारीपछि त साँचो कम्युनिष्ट नेताको विश्वमा खडेरी नै पैदा भयो। विश्व कम्युनिष्ट आन्दोलन कमजोर हुनुमा कम्युनिष्ट पार्टीभित्र दक्षिण पन्थी संशोधनवाद हाबी हुनु एक प्रमुख कारण हो। मार्क्सवादमा उभिएर आफ्नो विशिष्ट सिद्धान्त प्रयोग गर्दै रुस र चीनमा क्रमशः लेनिन र माओले स्थापित गरेको समाजवादी व्यवस्था कमजोर हुनमा रुसमा खुश्चेवले पुँजीवादी लाइन समाउनु र चीनमा तेङ्ले सुधारवादी लाइन लिनु प्रमुख कारण हो। रुस र पूर्वी युरोपका पहिलेका समाजवादी देशहरू चीन, भियतनाम, उत्तर कोरिया, क्युवा, पूर्वीयुरोप, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, पश्चिम, लेटिन अमेरिकाका कतिपय देशहरूमा आफूलाई कम्युनिष्ट पार्टी बताउँदै दक्षिण पन्थी संशोधनवादको बाटो लिएका थुप्रै पार्टी वा संगठनहरु छन् र विश्व स्तरमा भन्ने हो भने विश्व कम्युनिष्ट आन्दोलनमा त्यस प्रकारका पार्टीहरूको नै बढी जोड छ। वर्तमान अवस्थामा सच्चा मार्क्सवादीहरूको आवश्यकता छ। त्यसो त वर्तमान विश्वमा साँचो साम्यवादीहरूको पनि कमी छैन। तिनै सच्चा मार्क्सवादी, साम्यवादीहरूले विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने छन् भन्दा अत्युक्ति नहोला।

वर्तमानमा पनि विश्व कम्युनिष्ट आन्दोलनमा क्रान्ति सम्पन्न गर्न सक्ने मुख्य आधार भनेकै मालेमावाद (मार्क्सवाद, लेनिनवाद र माओवाद /माओ बिचार) हो। मालेमावादको अचुक हतियारबाट नै अहिलेको विश्व परिस्थितिमा क्रान्ति सम्पन्न गर्न सकिन्छ। वर्तमान विश्वमा क्रान्ति सफल गर्न अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल छैन भनिन्छ। के यो साँचो हो त ? यस विषयमा सही मालेमावाद विश्व दृष्टिकोण के हो भने समर्थन भएमा क्रान्ति सम्पन्न गर्न अपेक्षाकृत रूपमा सजिलो हुन्छ भन्ने कुरा सही हो। तर, अन्यत्र समाजवादी नभएको अवस्थामा क्रान्ति सम्पन्न हुन सक्दैन भन्ने कुरा गलत हो। यदि त्यही कुरा सही हुन्थ्यो भने महान् लेनिनले नेतृत्व गर्नुभएको वोल्शेविक पार्टीको नेतृत्वमा रुसमा विश्वको पहिलो सफल समाजवादी क्रान्ति सम्पन्न हुन सक्ने थिएन। साँचो अर्थमा भन्ने हो भने वर्तमानमा पनि विश्व कम्युनिष्ट आन्दोलन सफल हुन सक्ने आशाका किरणहरू पलाएका छन्। आज पनि विश्व कम्युनिष्ट आन्दोलनमा सच्चा क्रान्तिकारी नभएका होइनन्। तिनै सच्चा क्रान्तिकारीहरूले विश्व कम्युनिष्ट आन्दोलनलाई विजयको पगरी गुथाउने छन् भनेर विश्वभरका क्रान्तिकारी कम्युनिष्टहरु विश्वस्त छन्।

जर्मनीको मार्क्सवादी लेनिनवादी पार्टी (MLPD)ले मार्क्सवादी लेनिनवादी पार्टी र संगठनहरुको अन्तर्राष्ट्रिय सम्मेलनहरूको आयोजना गर्दै आएको र त्यसको एउटा संयुक्त को-अर्डिनेशन ग्रुप पनि बनेको छ। त्यसले मार्क्सवाद लेनिनवाद, माओत्सेतुङ्ग विचारधारालाई सैद्धान्तिक आधार बनाएको छ र स्टालिन तथा माओत्सेतुङ्गप्रति सकारात्मक दृष्टिकोण अपनाउने कुरामा जोड दिन्छ। त्यसो त क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने काम अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन (RIM)ले गरेको छ। रिममा संसारभरिका दर्जनौं क्रान्तिकारी कम्युनिष्टहरु सहभागी भएका छन् र रिमले विश्वभरका क्रान्तिकारी आन्दोलन, माओवादी आन्दोलनलाई साथ, सहयोग र प्रोत्साहन गर्ने गर्दछ। वर्तमान रिम विश्व कम्युनिष्ट आन्दोलन र विश्वभरका क्रान्तिकारीहरूको एक आशाको केन्द्रबिन्दु भएको छ।

वर्तमानमा विश्व कम्युनिष्ट आन्दोलन कमजोर भए पनि समाप्त भएको भने छैन। विश्व कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र पुनः शक्तिशाली बनाउनका लागि विश्वव्यापी रूपले प्रयत्न भइरहेको छ। विगतको राजनैतिक इतिहासले बताउँदछ। समाजको कुनै पनि व्यवस्था स्थिर रहँदैन। समाजमा लाखौं वर्षसम्म आदिम साम्यवादी व्यवस्था रह्यो, त्यसको स्थान दास युगले लियो। आफ्नो समयमा दास युग अत्यन्त शक्तिशाली थियो र त्यो लामो कालसम्म रहेको थियो। तर त्यसको पनि अहिले अन्त्य भएर गयो। आफ्नो समयमा अत्यन्त शक्तिशाली भएको सामन्ती व्यवस्था पनि विश्व व्यापी रूपमा समाप्त भएको छ। त्यसै गरेर कुनै बेलाका ठूला ठूला साम्राज्यवादीहरू नष्ट भएर गए। अहिले सम्मको इतिहासको अनुभवले के बताउँदछ भने कुनै ऐतिहासिक चरणमा कुनै व्यवस्था जति शक्तिशाली भए पनि त्यो सधैँका लागि रहन सक्दैन। त्यही कारणले विश्व पुँजीवादी र साम्राज्यवादी व्यवस्थाका सन्दर्भमा पनि यो लागू हुन्छ। विश्व राजनीतिक इतिहासले यो बताउँदछ कि पुँजीवाद व्यवस्था पनि अजेय व्यवस्था होइन। वर्तमान विश्वको पुँजीवादी व्यवस्थामा देखिएको संकटले विश्वका जनता पुँजीवादको विकल्प खोज्न थालेका छन्। पुँजीवादको विकल्प खोज्न थालेका छन्। पुँजीवादको एक मात्र विकल्प समाजवाद, साम्यवाद हो भन्दा अत्युक्ति नहोला।

विशेष गरी रुस र चीनमा कम्युनिष्ट व्यवस्था ढलेपछि विश्व कम्युनिष्ट आन्दोलनमा व्यापक धक्का पुग्यो। तर पनि वर्तमान विश्वमा विश्व कम्युनिष्ट आन्दोलन सक्रियता पूर्वक अघि बढेको देखिन्छ। आज क्रान्तिका लागि अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दा हामीले विश्वका लागि अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दा हामीले विश्वका विभिन्न भागमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भइरहेको वा विभिन्न किसिमबाट अघि बढिरहेका क्रान्तिकारी आन्दोलनतिर हाम्रो ध्यान जानु जरुरी छ। आज विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा छ। विश्वका विभिन्न भागमा कम्युनिष्ट पार्टीहरू आ-आफ्ना ढङ्गले क्रियाशील भइरहेका छन्। ती कम्युनिष्ट क्रान्तिकारीहरू आ-आफ्ना देशमा क्रान्तिलाई अघि बढाउन प्रयासमा लागि रहेका छन्। वर्तमान क्रान्तिकारी कम्युनिष्ट आन्दोलन दक्षिण एसियामा मौलाएको देखिन्छ। भारतमा भएको माओवादी आन्दोलन दक्षिण एसियामा भएको महत्त्वपूर्ण आन्दोलन मानिन्छ। दक्षिण एसियाका क्रान्तिकारी कम्युनिष्टहरु अन्तर्राष्ट्रिय रूपमा ‘कम्पोसा’मा एकजुट भएको देखिन्छ।

विश्व कम्युनिष्ट आन्दोलन सत्ता प्राप्तिको लागि संघर्षमा रहेको र विश्व पुँजीवादमा संकट देखा परेको वर्तमान स्थितिमा आजको युगको सबैभन्दा ठूलो प्रश्न बनेको छ : समाजवाद र पुँजीवादका बीचको यो संघर्षमा को विजयी हुनेछ ? इतिहासको अहिलेसम्मको विकासको अनुभवले बताउँदै आएको छ कि इतिहासको कुनै चरणमा पुरानो प्रकारको सामाजिक व्यवस्था वा नयाँ उत्पादक शक्तिहरूका कारणले उत्पन्न आर्थिक वा भौतिक परिस्थितिका बीचमा हुने संघर्षका सधैँ पछिल्लाको विजय हुन्छ, नयाँ उत्पादकका साधनहरू माथि आधारित विचार र मानिसहरूको नै विजय हुन्छ। त्यस अनुसार आज उत्पादनको सामाजिक स्वरूप र उत्पादनका साधनहरू माथिको व्यक्तिगत स्वामित्व वा व्यक्तिगत नाफाका बीचमा भएको अन्तर विरोधमा, समाजको ऐतिहासिक भौतिकवादी नियम अनुसार पहिलो पक्षको अर्थात् उत्पादनको सामाजिक रूपको नै विजय अवश्यम्भावी छ। त्यसको अर्थ हो अन्तमा उत्पादनको सामाजिक स्वरूपसित मेल खाने व्यवस्था अर्थात् समाजवादी व्यवस्थाको विजय हुन अनिवार्य छ। वर्तमानमा विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था देखिए पनि विश्व कम्युनिष्ट आन्दोलन विजयी हुनेमा कुनै शंका छैन।

विश्व क्रान्तिको विषयमा चर्चा गरिरहँदा केही समय देखि ल्याटिन देशहरूमा बोलिभारियन समाजवादी आन्दोलन जसरी अघि बढिरहेको छ, त्यसको भूमिका उल्लेखनीय महत्त्वको हुनेछ। भेनेजुएला, ब्राजिल आदि ल्याटिन अमेरिकी देशहरूमा समाजवादी आन्दोलनको नाममा जुन आन्दोलन चलिरहेका छन्, तिनको आफ्नो ठाउँमा अहिलेको विश्व परिस्थितिमा ठूलो महत्त्व छ। मार्क्सवाद तथा मार्क्सद्वारा प्रतिपादित साम्यवादी व्यवस्थाको जीत अवश्यम्भावी छ। मार्क्सवाद कहिल्यै पनि पराजित हुन सक्दैन। वर्तमान समयमा विश्वमा समाजवादी व्यवस्था भएको देश एउटा पनि नभए पनि विश्वका विभिन्न देशहरूमा समाजवादी व्यवस्था प्राप्तिका निमित्त संघर्ष भइरहेका छन्। विश्वमा समाजवादीहरूको कमी छैन। विश्वका कम्युनिष्टहरुले मार्क्सवादलाई २१ औं शताब्दी अनुकूल प्रयोग गरिरहेका छन्। हामीले समय सापेक्ष मार्क्सवादलाई २१ औं शताब्दी अनुकूल प्रयोग गर्नु पर्दछ। तर मार्क्सवादको मूल मर्म क्रान्तिकारीतालाई ओझेलमा पारेर कम्युनिष्ट आन्दोलन तय गर्नु गलत पनि हुन सक्छ। वर्तमानमा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन नै विश्व कम्युनिष्ट आन्दोलनको मूल मार्ग हुनु पर्दछ।

वर्तमानमा केही कमजोर देखिए पनि विश्व कम्युनिष्ट आन्दोलनको भविष्य पनि उज्ज्वल देखिन्छ भने विगतमा विश्व कम्युनिष्ट आन्दोलन आधा विश्वमा विजयी थियो। विश्वमा विश्व कम्युनिष्ट आन्दोलनको सफलतामा कुनै शंका छैन। विश्व कम्युनिष्ट आन्दोलनको विजयलाई संसारको कुनै पनि शक्तिले रोक्न नसक्ने भएकोले विश्व कम्युनिष्ट आन्दोलनका सारथिहरू यस कुरामा विश्वस्त छन्। विश्व कम्युनिष्ट आन्दोलनको वर्तमान कमजोर स्थितिले हामी कम्युनिष्टहरुलाई चिन्तन तुल्याउनु स्वाभाविकै छ। तर पनि यस्तो स्थिति धेरै नरहने कुरामा विश्वका कम्युनिष्टहरु ढुक्क छन्। त्यसो त वर्तमान विश्वमा कम्युनिष्टहरुको संख्या कम छैन। मार्क्सवाद प्रति वर्तमान विश्वभरका मानिसहरू आकर्षित देखिन्छन्। विश्व भरमा हेर्‍यौ भने मार्क्सवादी, लेनिनवादी पार्टीहरू धेरै छन्। ती पार्टीहरूले माओको जस्तै क्रान्तिकारी धारमा उभिने हो भने विश्वमा अझ कम्युनिष्टहरु मौलाउनेमा कुनै शंका छैन।

अन्तमा, हामी विश्वभरिका कम्युनिष्टहरु एकजुट भएर अघि बढी क्रान्तिकारी कम्युनिष्टहरुलाई संगठित गर्दै सम्पूर्ण विश्वभरि साम्यवादको स्थिति पैदा गर्नु आजको कम्युनिष्टहरुको दायित्व हो भन्दा अत्युक्ति हुँदैन। त्यसको साथै विश्व कम्युनिष्ट आन्दोलनको विगत जस्तै भविष्य पनि अत्यन्तै उज्ज्वल छ, तसर्थ पनि हामी विश्व कम्युनिष्ट आन्दोलनमा सक्रिय रहनु पर्दछ भन्दा दुई मत हुनेछैन। हामी कम्युनिष्टहरु वर्तमानको कम्युनिष्ट आन्दोलनको कमजोरपना देखि तर्सनु पर्ने स्थिति छैन। दिन पछि रात र रातपछि दिन आउने कुरा स्पष्ट भएकोले विश्व कम्युनिष्ट आन्दोलनले वर्तमानको रातको स्थितिलाई बदलेर दिनको घाम जस्तैको स्थिति लेराउनपछि पर्ने छैन। विश्व कम्युनिष्ट आन्दोलनको विजय सुनिश्चित छ निकट भविष्यमै विश्व कम्युनिष्ट आन्दोलनको कालो बादल फाट्ने छ। विश्वमा साम्यवादको पुनः उदय हुनेछ। विश्व साम्यवाद- जिन्दाबाद।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्