कार्लमार्क्सको विश्लेषण : धर्म वेदनाले भरिएको सुस्केरा

Karl Marx-5
लोकपाटी न्यूज
7 Shares

– कार्ल मार्क्स

जर्मनीमा धर्मको आलोचना मुख्यतः पूरा भइसकेको छ र, धर्मको आलोचना नै समस्त आलोचनाहरुको पूर्वाधार हो ।

भूलबाट सम्बन्धित दिव्य भाषण (Oratio pro aris et focis) लाई जतिबेला तिरस्कार गरिन्छ, त्यतिबेला त्यसको अपवित्र लौकिक अस्तित्व पनि उदाङ्ग हुन्छ । मान्छेले स्वर्गको काल्पनिक यथार्थतामा कुनै महामानवको खोजी गरिरहेको थियो, तर त्यसलाई आफ्नो प्रतिविम्बबाहेक त्यहाँ केही पनि प्राप्त भएन । त्यसपछि अब उसले जहाँसुकै आफ्नो वास्तविक यथार्थताको खोजी गर्दछ र गर्नेछ, त्यहाँ उसलाई स्वयं आफ्नै रुपको, अर्थात् अमानवीय (unmenso) उपायबाहेक अरु केही हात लाग्ने छैन ।

धर्मले मानिसको सिर्जना गर्ने नभई धर्मको रचना मानिसले गर्दछ । यो नै गैरधार्मिक आलोचनाको आधार हो । धर्म वास्तबमा यस्तो व्यक्तिको आत्माचेतना वा आत्मानुभाव हो जसले अहिलेसम्म स्वंयले आफ्नो पहिचान गरेको छैन या जसले आफूलाई आफूबाट फेरि एकपटक गुमाएको छ । मानिसको दुनियाँभन्दा बाहिर उसको कुनै अमूर्त अस्तित्व हुँदैन । उसको राज्यसत्ता एवं समाज नै मानिस आफै हो । यो राज्यसत्ता र समाजले सिर्जना गरेको धर्म उल्टो चेतना हो, किनकी यो दुनियाँ आँफैमा एक उल्टो दुनियाँ हो । धर्म यो दुनियाँको सामान्य सिद्दान्त हो, धर्मको विश्वज्ञानकोष छ, यस चिन्तनको प्रचलित तर्क छ, यसको आध्यात्मिकता शिखर विन्दू हो, यसको उत्साह छ, यसको नैतिक मान्यता छ, यसको पवित्र पूरक छ, यसको सत्य तथा न्यायसंगत देखाउने सार्वभौमिक आधार छ । धर्म मानवीय सारतत्वको काल्पनिक बोध हो र मानवीय सारतत्वको खाँटी वास्तविकता थाहा नभएका कारण यसको आवश्यकता पनि छ । त्यसैले धर्मविरुद्ध संघर्ष परोक्ष रुपले त्यो अध्यात्मिक दुनियाँविरुद्धको संघर्ष हो जो धर्मको साहारामा रहेको छ ।

धर्म थिचिएका र दबिएका मानिसहरुको वेदनाले भरिएको सुस्केरा हो, यो हृदयहीन दुनियाँको हृदय र आत्मविहीन परिस्थितिको आत्मा हो । धार्मिक पीडा एकै पटक र एकै समयमा वास्तविक पीडाको अभिव्यक्ति र त्यसको विरोध पनि हो । यो आम जनताका लागि अफिम हो । धर्मको उन्मुलन भनेको वास्तवमा आम जनताका लागि भ्रामक सुखको स्थानमा वास्तविक सुखको माग हो । आफ्नो वास्तविक परिस्थितिसम्बद्ध विभ्रम परित्याग गर्ने सर्वसाधारणको चाहना, त्यो परिस्थितिलाई माथ दिने आर्तनाद हो जसले यो विभ्रमलाई अपरिहार्य बनाइरहेको छ । यथार्थमा धर्मको आलोचना सोचीसम्झी गरिएको आँशुको त्यो सागरको आलोचना हो जसको अन्तर्यमा धर्म रहेको छ । धर्मको आलोचनाले काल्पनिक फूलको सुगन्धित र सुसज्जित मानवीय जञ्जिरलाई तोडेको छ, यसकारण कि उनीहरु स्वयंलाई यी जन्जिरबाट मुक्त गरी जिन्दगीको आनन्द लिन सकुन् ।

धर्मको आलोचनाले मानिसको तर्कशक्तिलाई उजागर गरिदिन्छ ता कि मानिसले सोच्न सकोस्, कार्य गर्न सकोस् र आफ्नो वास्तविकताबारे पूर्ण रुपले बुझेर त्यसलाई आकार दिन सकोस् । ऊ आफ्नो कक्षमा घुमेको स्वयं आफ्नो सूर्य बन्न सकोस् । धर्म एक झूटो सूर्य हो जो दिग्भ्रमित मानिसको वरिपरि परिक्रमा गर्दछ । तसर्थ यो इतिहासको भूमिका होस् कि जसले परलौकिक सत्यको पतन भएपछि इहलौकिक सत्यको स्थापना गरोस् । त्यस्तै दर्शनको भूमिका यो होस् कि उसले इतिहासको सेवामा मानिसको आत्मअलगावको अलौकिक आभासलाई समाप्त गरेपछि यसको लौकिक स्वरुप पनि प्रष्ट पारोस् । परिणामतः स्वर्गको आलोचना धर्तीको आलोचनामा, धर्मको आलोचना कानुनको आलोचनामा तथा धर्मशास्त्रको आलोचना राजनीतिको आलोचनामा रुपान्तरित हुनसकोस  ।

(प्रस्तुत सामाग्री ‘क्रिटिक अफ हेगेल्स फेलोसपि अफ ल’ को भूमिकाबाट लिइएको हो । हिन्दीबाट भाषान्तर गरिएको मार्क्सको यो सामाग्री पठनीय ठानी प्रकाशन गरिएको हो । –सम्पादक) 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्