सञ्चारमाध्यमप्रति गुनासो बढिरहेको छ : उपराष्ट्रपति पुन

Nanda_Bahadur_Pun
लोकपाटी न्यूज

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्। सञ्चारिका समूहको आठौँ अधिवेशन तथा २५औँ वार्षिक साधारण सभामा उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पुर्‍याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ। पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उनले बताए। उनले भने, ‘नागरिकमा चेतना बढ्दा गुनासा बढिरहेकाले त्यो सम्बोधन गर्न लाग्नुपर्छ।’ पत्रकार आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रहनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए।

सञ्चारमाध्यमले आम नागरिकको रचनात्मक, चेतनात्मक र आलोचनात्मक चेत विकास गर्नुपर्ने उनले उल्लेख गरे। पत्रकार महिलाको घरपरिवार र कार्यस्थलमा गरी दोहोरो जिम्मेवारी रहने गरेको उनले बताए। पत्रकार महिलाले दूर दराजमा रहेका हिंसापीडित महिलाका बारेमा आवाज उठाउनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिए। पत्रकार महिलाले नै पीडित महिलाका पीडा बुझ्न सक्ने उनको भनाइ छ। -रासस