अधिवक्ता श्रेष्ठ र घिमिरेद्वारा बार अध्यक्षमा उम्मेद्ववारी घोषणा

लोकपाटी न्यूज

काठमाडौं। नेपाल बार एशोशिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले पेसागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले स्वतन्त्र, स्वच्छ र सक्षम न्यायालयको लागि आफ्नो पेसागत स्वतन्त्र तर्फबाट उम्मेदवारी रहेको बताइन्। उनले भनिन्,‘स्वतन्त्र र दक्ष बारको लागि मेरो उम्मेदवारी हो। अब न्यायालयलाई बचाउनु पर्छ।’ पछिल्लो समयमा अदालतबाट जनतामा निराश छाइरहेको दाबी गर्दै श्रेष्ठले न्यायालयले राम्रो काम राम्रोसँग गर्न नसकेकोमा न्यायालय असक्षम ठहरिने टिप्पणी गरिन्।

देशमा संविधान कार्यान्वयन नभएकै कारण देशको अवस्था बिग्रँदै गएको उनको भनाई थियो। अहिलेको व्यवस्था सुनौलो भएको भन्दै उनले यसको बचाउ गर्न पर्नेमा जोड दिइन्। नेपालको संविधान सबै भन्दा ठुलो हो भन्दै श्रेष्ठले संविधान भन्दा माथि कोही जान नहुने धारण राखिन्। उनले अहिलेको व्यवस्था सबैले ल्याएको भन्दै उनले व्यवस्था ठिक भए पनि त्यसको पूर्ण कार्यान्वयन गर्न नसकेकोमा आपत्ति जनाइन्।

नेपाल बार एसोसिएसन प्रति व्यङ्ग्य गर्दै अधिवक्ता श्रेष्ठले भनिन्,‘बारमा आज दलबल मात्र होइन, धनबल पनि छ। बारले एकाधलाई मात्रै अघि बढायो र अरूलाई समेट्न सकेन।’ बारमा ७७ जिल्लाका वकिलहरू पनि रहेको स्मरण गराइन्। त्यस्तै, पछिल्लो समय बारका वरिष्ठ नेतृत्वहरूमा पनि निराशा छाइरहेको उनले जिकिर गरे।

काठमाडौं बासीले त न्यायालयबाट सेवा, सहुलियत नपाएको भन्दै उनले दूर दराजका जिल्लाहरूले पाउने नसक्ने अहिलेको अवस्थाको अन्त्य गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको सुनाइन्। वकिलहरूको छाता सङ्गठन बारले वकिलहरूको योग्यता, कुशलता हेर्नुपर्नेमा त्यसो गर्न नसकेको गुनासो गरिन्। उनले भनिन्,‘बारले गर्ने काम भनेको वकिलहरूको पेसागत हकहितको लागि हो।’ श्रेष्ठले वरिष्ठहरूलाई सम्मान गर्दै वकिलहरूलाई बिमाको व्यवस्था, नवोदित कानुन व्यवसायीहरूलाई तालिम दिएर आफू स्याहार बन्ने पनि प्रतिबद्धता व्यक्त गरिन्।

न्याय क्षेत्र आफै पनि अनुशासनमा बस्न पर्ने उनको भनाई थियो। अनुशासनमा नबसेपछि राजनीतिक दलको दबाब र प्रभावमा बस्न पर्ने र स्वतन्त्र तरिकाले काम गर्न नसक्ने उनले बताइन्। उनले आफू निर्वाचित भएमा कानुनी राज्यको प्रत्याभूति दिलाउने, संविधानको पालना गराउने, राजनीतिक दललाई सचेतना गराउने, सबै प्रदेशलाई समान व्यवहार गर्ने-गराउने समेत प्रतिबद्धता व्यक्त गरिन्।

अध्यक्षका अर्का उम्मेदवार अधिवक्ता उद्धवचन्द्र घिमिरेले बारको आगामी निर्वाचनमा आफूले पेसागत स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए। राजनीतिक दलबाट दुई प्यानल चुनावमा उत्रिएको भन्दै विगतमा पनि राजनीतिक दलका प्यानलका नेतृत्वले न्यायालयलाई फाइदा नपुर्‍याएको दाबी गरे।

नेपाल कानुन आयोगका सदस्य समेत रहेका घिमिरेले भने,‘राजनीतिक दलहरूको प्यानलबाट आजसम्म जति पनि बारहरू गठन भए, त्यसका नेतृत्वले न्यायालयलाई फाइदा पुगेको छैन। अहिले पनि सरकारमा रहेका राजनीतिक दलबाट एउटा प्यानल बनाएकाे छ। र अर्को एमालेबाट एउटा प्यानल रहेको छ।’

अध्यक्ष पदको लागि आगामी निर्वाचनमा ८ जना उम्मेदवार रहेको समेत उनले जानकारी दिए। उनले बारमा नेतृत्व गरिरहेकाहरूले रुल अफ ल को कुरा नभई हुल अफ ल को कुरा गरिरहेको आरोप लगाए। ‘अहिलेसम्म न्यायालयलाई स्वतन्त्र र सक्षम बनाउने ठाउँमा रुल अफ ल को कुरा नभई उनीहरु हुल अफ ल को कुरा गर्नुहुन्छ रुल अफ ल को कुरा गर्नुहुन्न।’ उनले भने,‘न्यायालयमाथि भ्रष्टाचार, न्यायालयमाथि राजनीतिक हस्तक्षेप र न्यायालयले पनि राजनीतिमाथि हस्तक्षेप गरेको अवस्था छ।’ नेपालको संविधानले रुल अफ ल को कुरा गर्ने उनले बताए।

सरकारका तीन वटा अ‌क र तिनिहरुको आ-आफ्नै चेक एन्ड ब्यालेन्स हुन्छ भन्दै उनले कतै राम्रो स्थिति नदेखिएको बताए। अहिलेको स्थिति खिलराज रेग्मी प्रधानमन्त्री भएदेखि आएको आरोप लगाउँदै उनले त्यस बेला बारको कमिटी भए पनि केही नबोलेको बताए। अबको नेतृत्व स्वतन्त्र, निष्पक्ष, आफ्नो खुट्टामा उभिने र सक्कली वकिलहरूको प्रतिनिधित्वको हुनुपर्ने भन्दै आफूले त्यसैका लागि उम्मेदवारी दिने पनि बताए।