चितवनमा सुकुम्वासीहरूलाई लाल पुर्जा वितरण

लोकपाटी न्यूज

चितवन। चितवनको एक मात्र गाउँपालिका इच्छा कामनामा पनि सुकुम्वासीहरूलाई लाल पुर्जा वितरणको प्रक्रियाका लागि निस्सा वितरण सुरु गरिएको छ। सोमबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका विज्ञ सदस्य निर प्रसाद लामिछानेको प्रमुख आतिथ्य, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडीको विशिष्ट आतिथ्यता तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा एक कार्यक्रमकारबिच निस्सा वितरण गरिएको हो।

निस्सा वितरण कार्यक्रममा मन्तव्य राख्दै आयोगका विज्ञ सदस्य निर प्रसाद लामिछाने र सदस्य लक्ष्मीकान्त दुवाडीले नापी कार्यालयसँग समन्वय गरी जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने बताएका थिए।विज्ञ सदस्य लामिछानेले भने, ‘लाल पुर्जा पाउनेमा तपाईँहरू ढुक्क हुनुहोस्, विश्वस्त रहनुहोस् नापी कार्यालयसँग समन्वय गरी जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने छौँ।’ सो कार्यक्रमका माझ २० जनालाई निस्सा वितरण गरिएको छ।

निस्सा पाएपछि स्थानीयहरूले खुसी व्यक्त गरेको थियो। निस्सा पाएपछि चाँडै लाल पुर्जा पाउने आशा व्यक्त गर्दै भूमि आयोगका सदस्य, जनप्रतिनिधि कर्मचारीहरूलाई धन्यावाद दिएको थियो। निस्सा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष बम बहादुर थापा (विजय) र राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिका कार्यालयका सेवा केन्द्रका प्रमुख हरि देवकोटाका अनुसार इच्छा कामनामा ३ हजार ३८९ भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले निवेदन दिएका छन्। वडा नम्बर ७ मा सबै भन्दा बढी १ हजार ५१० रहेका छन्। वडा नम्बर ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्य सम्पन्न भएसँगै निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाई छ।

अन्य वडाको पनि भूमि आयोगको अनलाइन प्रणालीमा निवेदन प्रविष्ट गर्ने कार्य भइरहेकोले चाँडै निस्सा वितरण गरिने प्रमुख देवकोटाले बताए। राष्ट्रिय भूमि आयोग ताहाचल काठमाडौँ र इच्छा कामना गाउँपालिकाबिच कार्य सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि विगतमा निवेदन फाराम भर्न छुट भएका भूमिहीन दलित भूमिहीन सुकुम्वासीलाई निवेदन फाराम भर्नको लागि २०७८ फागुन २६ गते गते राष्ट्रिय भूमि आयोगबाट ३५ दिने सूचना प्रकाशित भैसकेको र सो को लागि निवेदन फारामहरू सबै वडा कार्यालयमा उपलब्ध गराइएको गराइएको प्रमुख देवकोटाको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्