एएफसी कप : पहिलो हाफमा मछिन्द्र २-० ले पछाडि

लोकपाटी न्यूज

काठमाडौं। एएफसी कपको प्रारम्भिक चरणमा नेपालको लिग च्याम्पियन मछिन्द्र क्लब श्रीलंकन क्लब ब्लु स्टार स्पोर्टिङ क्लब विरुद्ध दुई गोलले पछि परेको छ। दशरथ रंगशालमा मोहमेद ईशान र सेनाल सन्देशले गोल गरेपछि ब्लु स्टारले घरेलु टोली मछिन्द्र माथि पहिलो हाफमै २-० को अग्रता बनाएको हो।

घरेलु मैदानमा घरेलु दर्शकको अगाडी मछिन्द्रले सुरुवाती दश मिनेट बल पोसेसन राखेपनि गोल गर्ने सकेन। पहिलो हाफमा ब्लु स्टारले पाएको पेनाल्टी भने मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए। खेलको नवौँ मिनेट नुर्लान नोभ्रुजोभले गोल गर्ने अवसर मिस गरे। उनले पेनाल्टी बक्सबाट हानेको प्रहार पोष्ट भन्दा बाहिर गयो।

१५औं मिनेटमा ब्लु स्टारले पेनाल्टी पायो। तर अरेपेड ओम्बेबेको पेनाल्टी प्रहार मछिन्द्रका विशाल श्रेष्ठले बचाए। देवेन्द्र तामाङले सेनल सन्देशलाई फाउल गरेपछि ईराकी रेफ्री युसुफ सईद हसनले पेनाल्टी दिएका थिए। १८औं मिनेट मछिन्द्रका कप्तान सुजल श्रेष्ठको हेडर पोष्ट नजिकबाट बाहिरियो।

२४औं मिनेटमा मोहमेद ईशानले गोल गर्दै श्रीलंकन क्लब ब्लु स्टारलाई अग्रता दिलाए। २८औं मिनेटमा सेनाल सन्देशले गोल गर्दै ब्लु स्टारको अग्रता दोब्बर पारे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्