पृथ्वीलाई जलवायु परिवर्तनबाट कसरी जोगाउने ? यी हुन् पाँच उपाय

climate_change
लोकपाटी न्यूज
11 Shares

जलवायु परिवर्तनका कारण निम्तिने खतराका बारेमा चर्चा भइरहेको वर्षौंदेखि हो तर यो खतरनाक अवस्थासँग जुध्न विश्वले के के गर्न सक्छ भन्ने विषयले भने धेरैको ध्यान तान्न सकेको देखिँदैन। पृथ्वीको तापक्रम बढ्दै जाँदा त्यसबाट निम्तिन सक्ने खराब अवस्थाहरू आउन नदिन मानिसहरूले के गर्न सक्छन् भन्ने बारेमा सोमवार संयुक्त राष्ट्रसंकका वैज्ञानिकहरूले एउटा योजना सार्वजनिक गरेका छन्।

राष्ट्रसङ्घको वातावरणीय निकाय इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज आईपीसीसी ले हामीले ऊर्जा उत्पादन गर्ने र त्यसको उपभोग गर्ने तरिकामा नै आमूल परिवर्तन ल्याउनु पर्ने बताएको छ। पृथ्वीको तापक्रम खतरनाक अवस्थामा पुग्नबाट जोगिन कार्बन उत्सर्जनको दर अबको तीन वर्षमा चरम बिन्दुमा पुगेर त्यसपछि द्रुत गतिमा ओह्रालो लाग्न थाल्नु पर्छ।

त्यस्तो अवस्था हासिल भएर पनि पृथ्वीको तापक्रम बढ्न नदिन हावाबाट कार्बनडाइअक्साइड सोसेर निकाल्ने प्रविधिको आवश्यकता अझै पर्नेछ। पृथ्वीलाई सुरक्षित अवस्थामा राखिराख्न वैज्ञानिकहरूले अति जरुरी भनेका उपायहरू मध्येका महत्त्वपूर्ण पाँच उपाय के के हुन् त?

१. कोइलाको प्रयोग घटाउने : राष्ट्रसंघका वैज्ञानिकहरूले तयार पारेका ६३ पृष्ठ लामो यो पछिल्लो प्रतिवेदनमा अनेकौं कुराहरू भए पनि सबैभन्दा स्पष्ट सन्देश के हो भने मानिसहरूले खतराबाट जोगिने हो भने खनिज इन्धनको प्रयोग कमभन्दा कम गर्नु पर्छ।

पृथ्वीको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्रै नियन्त्रणमा राख्ने हो भने सन् २०२५ सम्म हानिकारक उत्सर्जनको मात्रा चरम बिन्दुमा पुर्‍याउने र त्यसपछि यो दशकको अन्त्यसम्ममा ४३% ले खुम्च्याउन आवश्यक छ। त्यसका लागि सबैभन्दा प्रभावकारी उपाय भनेको ऊर्जाको उत्पादन वायु र सौर्य जस्ता टिकाउ स्रोतहरूबाट गरिनु पर्दछ। आईपीसीसीको विश्वासमा पृथ्वीको तापक्रम बढ्न नदिन ऊर्जा उत्पादनका लागि कोइलाको प्रयोगलाई सदाका लागि बन्द गर्नु पर्छ।

२. प्रविधिको प्रयोग : केही वर्षअघि सम्म पनि जलवायु परिवर्तनको समस्यासँग जुध्न प्रविधिको विकास गर्ने र समाधानका लागि पनि प्राविधिक उपाय नै अपनाउनु पर्छ भन्ने कुरालाई केही वैज्ञानिकको सनकका रूपमा लिने गरिन्थ्यो। पृथ्वीको तापक्रम घटाउन वायुमण्डलमा कुनै रासायनिक पदार्थ छर्कने कुरा होस् वा अन्तरिक्षमा ठूला-ठूला ऐनाहरू पठाएर सूर्यको प्रत्यक्ष किरणहरूलाई पृथ्वीमा पर्नबाट छेक्नेसम्म विचारहरूलाई खिल्ली उडाइएको थियो।

तर जलवायु परिवर्तनको सङ्कट चर्किँदै जाँदा कार्बन उत्सर्जन कटौती गर्न एकदमै अप्ठ्यारो हुँदै गर्दा अनुसन्धानकर्ताहरू उपयुक्त समाधानका निम्ति फेरि प्रविधिको भूमिकाको खोजी गर्न बाध्य बनेका छन्। वायुमण्डलबाट कार्बनडाइअक्साड ग्यास हटाउने कार्बनडाइअक्साइड रिमुभल सीडीआर अब गम्भीर चर्चाको विषय बन्न पुगेको छ र यो पछिल्लो प्रतिवेदनमा आईपीसीसीले पनि त्यस्ता गतिविधिलाई समर्थन गरेको छ।

वायुमण्डलबाट कुनै तरिकाले कार्बनडाइअक्साइड नहटाईकन तापक्रम कम पार्न सकिँदैन भन्ने कुरामा वैज्ञानिकहरूले स्पष्ट सन्देश दिएका छन् चाहे त्यो रूखहरूको प्रयोग गरेर होस् वा हावा छान्ने ठूला ठूला मशिनहरूको प्रयोग गरेर होस्। यस विषयमा वातावरण संरक्षणवादीहरूका तर्फबाट ठूलो विरोध हुँदै आएको छ। उनीहरू भन्छन् आईपीसीसीले खनिज इन्धन उत्पादन गर्ने देशहरूका सामु झुकेर प्रभावकारिता देखिनै बाँकी रहेको प्राविधिक उपायहरूमाथि आवश्यकभन्दा बढ्ता नै जोड दिइरहेको छ।

३. माग कटौती- गोप्य अस्त्र : पहिले-पहिलेका प्रतिवेदनको दाँजोमा यसपल्टको प्रतिवेदनमा रहेको सबैभन्दा ठूलो भिन्नता भनेको यसपालि समाजशास्त्रले ठूलो महत्त्व पाएको छ। प्रतिवेदन विशेष गरी आवास, आवागमन र पोषणजस्ता क्षेत्रमा मानिसहरूको ऊर्जाको मागलाई कटौती गर्न सकिने उपायहरूमा केन्द्रित देखिन्छ।

यसमा केही व्यापक क्षेत्रहरू पर्दछन्: न्यून कार्बन खानेकुरा, खानेकुरा खेर फाल्ने प्रवृत्ति, सहरको निर्माण गर्ने तरिका र मानिसहरूको रुचि कम कार्बन उत्सर्जन गर्ने यातायातका विकल्पमा जगाउने पर्दछन्। आईपीसीसीको विश्वासमा यी क्षेत्रहरूमा गरिने परिवर्तनले सन् २०५० सम्ममा उपभोक्ता तहमा उत्सर्जनलाई ४०- ७०% ले घटाउन सकिन्छ।

४. पृथ्वीलाई चिस्याउन पैसाको प्रयोग… : जलवायु परिवर्तनसँग जुध्ने सम्बन्धमा प्रायः ढिलाइ हुनुको कारण त्यसका लागि लाग्न भनेर ठानिने ठूलो खर्चको कुरा पनि हो। तर हालै जलवायु परिवर्तनका कारण उत्पन्न भएका ठानिएका ठूला प्राकृतिक विपद्हरूले पुर्‍याएका आर्थिक क्षति हालैका वर्षहरूमा बिस्तारै चर्कँदै जान थालेपछि त्यस्तो ठम्याइमा केही फेरबदल देखिएको छ।

आईपीसीसीले खर्चका सम्बन्धमा केही नयाँ निर्देशिकाहरू पनि प्रस्तुत गरेको छ। र त्यसको निचोड के हो भने पृथ्वीलाई चिस्याउन विशाल खर्च लाग्दैन। आईपीसीसी भन्छ अहिले खनिज इन्धनका सम्बन्धमा भइरहेको पैसाको प्रवाह स्वच्छ ऊर्जाका निम्ति भइरहेको दाँजोमा एकदमै धेरै छ। ग्रीन पिसका अनुसार सरकारहरूले खनिज इन्धनको खपतका निम्ति दिइरहेका अनुदानहरू बन्द गरिएमा मात्रै सन् २०३० सम्ममा कार्बन उत्सर्जनमा १०% ले कटौती ल्याउन सकिनेछ।

५. धनीहरूको व्यवहारमा परिवर्तन : नयाँ प्रतिवेदनमा सापेक्षिक रूपमा धनी मानिसहरूको व्यवहारले पृथ्वीको अवस्थामा पर्ने ठूलो प्रभावका बारेमा पनि जोड दिइएको छ। आईपीसीसीका अनुसार सर्वोच्च प्रतिव्यक्ति उत्सर्जन दर भएका १०% घरपरिवारले ४५% सम्म उपभोगमा-आधारित हरितगृह ग्यास उत्सर्जनमा योगदान दिने गरेको देखिएको छ।

उक्त प्रतिवेदनका अनुसार संसारका धनाढ्यहरूले निजी जेट विमान लगायत आफ्नो आवागमनका लागि एकदमै धेरै खर्च गरिरहेका छन्। धनाढ्यहरूले गर्ने कार्बन उत्सर्जन कटौतीका लागि तिनहरूलाई थप करको घेरामा ल्याउने वा अन्य उपाय अपनाउन सकिन्छ भन्ने सुझावहरू पनि व्यक्त भएका छन् तर आईपीसीसीको प्रतिवेदनका केही लेखकहरूको विश्वासमा धनाढ्यहरूले शून्य उत्सर्जनको दिशामा अघि बढ्न अन्य भूमिका पनि खेल्न सक्छन्।

आईपीसीसी प्रतिवेदनका मुख्य लेखक एक्सिटर विश्वविद्यालयका प्राध्यापक प्याट्रिक डिभाइन-राइट भन्छन्, ‘धनीहरूले असमानुपातिक रूपमा धेरै उत्सर्जनमा योगदान पुर्‍याउने गर्छन् तर तिनीहरूले आफ्नो स्वास्थ्य अवस्था उत्तम अवस्थामा राखेर र आरामदायी जीवनशैली अपनाएरै पनि उत्सर्जन कटौती गर्नमा सघाउन सक्ने सम्भावना उच्च नै रहन्छ।’

‘यस्ता धनाढ्य मानिसहरू पनि छन् जसले तिनका उच्च र प्रतिष्ठित अर्थसामाजिक अवस्थाको सदुपयोग कार्बन उत्सर्जन कटौती गरेर र न्यून कार्बन उपभोक्ता भनेर अन्यका सामु आफ्नो अनुकरणीय व्यवहार प्रदर्शन गर्न सक्छन्। त्यसै गरी तिनले न्यून कार्बन उत्सर्जन गर्ने व्यवसायमा लगानी गर्न सक्छन् साथै कडा वातावरणीय नीतिहरूको निर्माणका निम्ति आफ्नो सम्पर्क र प्रभावको प्रयोग पनि गर्न सक्छन्।’ -बीबीसी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्