रेमिटेन्स आम्दानी बढाउन श्रममन्त्री श्रेष्ठका दर्जन प्रस्ताव

लोकपाटी न्यूज

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे बिभिन्न प्रस्ताव गरेका छन्।

अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिटेन्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए।

नेपाल आउने रकम औपचारिक माध्यमबाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैङ्कहरूसँग लगानीयोग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ। मन्त्री श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे राख्नुभएका प्रस्ताव यस्ता छन्-

-वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने।

-विदेशबाट पैसा पठाउँदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने।

-विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने।

-विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने।

-औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टिभी, गरगहना आदिमा सहुलियत दिने।

-औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुन: श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने।

-वार्षिक रूपमा सबैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने।

-औपचारिक माध्यमबाट नेपालमा रेमिटेन्स पठाउनेहरूलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरूमा ५० प्रतिशत सहुलियत दिने।

-नेपाल फर्केर उद्यम गर्नेहरूलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने।

-वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने।

-सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने।

-वैदेशिक रोजगारीमा जान विद्यमान प्रक्रियालाई सहज र सरल बनाउने।