नेपाल व्यवसायिक बाख्रापालन महासंघ सरकारसँग असन्तुष्ट

लोकपाटी न्यूज
4 Shares

काठमाडौं। नेपाल व्यवसायिक बाख्रा पालन महासंघले राव्यले किसानलाई बेवास्ता गरेको गुनासो पोखेको छ। महासंघले बाख्रा पालक किसानलाई राज्यको तर्फबाट बेवास्ता भएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा आफूहरूले अघि सारेका मागलाई सम्बोधन गर्न सरकारलाई सुझाव दिएको छ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले आगामी वर्षको बजेटमा आफूहरूको माग सम्बोधन गर्न भन्दै विभिन्न सुझाव तथा माग अघि सारेको छ। महासंघले अघि सारेका मागमा किसान क्रेडिट कार्डको व्यवस्था गरी न्यूनतम मापदण्डका आधारमा कृषकलाई बैंकिङ सेवामा सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने, कृषि तथा पशुपन्छी पालन उद्यमस्थलहरुमा आवश्यकत्ताअनुसारको विद्युत् तत्काल उपलब्ध गराउनुपर्ने, बाख्राहरूलाई खोकेर र पीसीआर पूर्ण खोपको सुनिश्चितता गरिनुपर्ने, कृषि श्रमिकको अभिलेखीकरण, तालिम, सामाजिक सुरक्षा, प्रोत्साहन भत्का, दुर्घटना बिमा र सञ्चय कोषको व्यवस्था गरिनुपर्नेलगायत छन्।

महासंघका केन्द्रीय अध्यक्ष प्रेम सागर पौडेलले नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुको कारण कृषिलाई बुझ्ने चिन्तनमा दरिद्रता भएको आरोप लगाए। उनले आम नेपालीले जीवनको चिन्तनलाई बदल्नु आवश्यक रहेको धारणा राखे। उनले किसानहरूको समस्या र माग लिएर आफूहरू पालिकादेखि प्रधानमन्त्री कार्यालयसम्म धाएको पनि स्मरण गराए। ‘म काठमाडौंमा १७ वर्ष पत्रकारिता गरेपछि कलम छाडेर बाख्रा गोठालो भएको छु। म स्वाभिमानका साथ कलम छाडेर बाख्रा पालनमा लागेको हुँ’-उनले भने।

साथै, उनले कृषक बाख्रा पाल्ने मान्छे मात्र नभएर मान्छे पाल्ने भगवान् भएको पनि धारणा राखे। ‘जुनसुकै कर्ममा रहे पनि मान्छेको जीवन कृषि क्षेत्रमा आधारित छ। म एउटा बाख्रा पाल्ने मान्छे मात्र होइन, मान्छे पाल्ने जिउँदो भगवान् हो। यो कुरा बुझ्ने क्षमता सबैले बनाउनुपर्छ’-उनले भने। साथै, उनले किराना कालमा सबै मान्छे घरभित्र बसेको समयमा किसानहरू खेतबारीमा खटेर सबैलाई बचाएको स्मरण गराए। उनले भने,‘कोरानाले मान्छे थलिएर पोसिलो खाना चाहियो भन्ने समयमा मासुको सुप खाने कसले बनायो ? त्यसैले अन्नदाता किसानलाई सबैले सम्मान गर्नुपर्छ।’

उनले पत्रकारिताप्रति किसान असन्तुष्ट रहेको भन्दै आफूले खाएको अन्नको भाडा तिर्नको लागि भए पनि हप्तामा एक पटक कृषिबारे लेख्न आम सञ्चारकर्मीहरूमा आग्रह गरे। ‘गीत लेख्ने लेखकहरू माया पिरतीका गीत छाडेर किसानका गीत लेख्नुहोस्। कथाकारहरूले एउटा कथा लेखोस्। पत्रकारले समाचार लेखोस्। उपन्यासकारले उपन्यास लेखोस्। कविले कविता लेखोस्’-उनले भने।

साथै, देश र राज्य सञ्चालनमा बसेकाहरूले किसानलाई नबुझेसम्म देश श्रीलंकाको बाटोमा अगाडि बढ्ने पनि खतरा औँल्याए। कृषिमा लागेका जनसङ्ख्याको ६० प्रतिशतले बाख्रा पाल्ने देश नेपालमा नेपाली किसानको बाख्राको बजार ध्वस्त हुनेरि भारतबाट नेपालमा बाख्रा आयात भइरहेको पनि उनले तथ्याङ्क पेस गरे। उनले गाडीमा चढेर हिँड्ने नेताहरूलाई सुमेरु पर्वत ठानेर घुम्ने प्रवृत्ति देशलाई ध्वस्त पार्ने कारक भएको टिप्पणी गरे।

त्यस्तै, महासंघका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सिंहदरबार मा मात्र गणतन्त्र आएको भन्दै अझैसम्म किसानको गोठमा गणतन्त्र नआएको गुनासो पोखे। ‘गणतन्त्र आयो त भनिन्छ, तर अहिलेसम्म किसानको खेतबारीमा गणतन्त्र आउन सकेन। गणतन्त्र सिंहदरबार र बालुवाटारमा मात्र आएको छ’-उनले भने। साथै, उनले किसानका कुरा जोडदार रूपमा उठाइदिन आम सञ्चार कमीहरूसँग आग्रह गरे। ‘विश्वका अन्य कुनै पनि देश दश प्रतिशतभन्दा माथि कृषि कर्ममा नरहे पनि आफ्नो देशलाई कृषिमा आत्मनिर्भर बनाएका छन्। हामी ६० प्रतिशत भन्दा बढी जनता कृषि कर्ममा रहेको छौँ। तर, सब थोक विदेशबाट आयात गरेर हाम्रो जीवन चलाउन बाध्य छौँ, यो दुःखदायी अवस्था हो। यसप्रति सबैको ध्यान जानुपर्छ।’-उनले भने।

जुनसुकै सरकार आए पनि किसानका मुद्दामा गम्भीर बन्न नसकेको भन्दै उनले किसानले उत्पादन नगरे कसैले खान नपाउने बताए। उनले नेपालका थुप्रै परिवर्तनका आन्दोलनमा किसानले महत्त्वपूर्ण भूमिका खेले पनि सरकारले किसानका समस्या बुझ्न र ती समस्याको समाधान गर्न नसकेको पनि उल्लेख गरे।

यस्तै, उनले बिमा कम्पनीबाट किसानहरू निकै पीडित भएको गुनासो गरे। ‘विदेशमा कमाएको पैसा आफ्नै देशमा कृषि कर्ममा लगाउन चाहने युवाहरूले सरकारको तर्फबाट राम्रो वातावरण पाउन नसकेको अवस्था छ, विदेशमा कमाएको पैसा कृषि कर्ममा लागेर डुबेपछि ऋण तिर्न पुनः बिदेसिने बाध्यतामा ती युवाहरू छन्। यतातर्फ राज्यको ध्यान जाओस्।’

किसानहरूले गरेको दुःखका साथै उत्पादन गरेको वस्तुको मुल्य नपाउनु दुःखद कुरा भएको उनले बताए। ‘एक कप चियाको मूल्य छ तर, किसानले वर्ष दिन पालेको बाख्रालाई बिचौलिया आएर उचालेर मुल्य तोक्छन्। यो निकै दुःखद कुरा हो,’-उनले भने। उनकाअनुसार किसानहरूले लागत मूल्यको ३० प्रतिशत मात्र पाएका छन्। तर, बिचौलियाले होटेलमा ल्याएर एक केजी मासुको प्लेटिङ गरेर पाँच हजार बनाउने गरेको उनले तितो यथार्थ सुनाए। तर, पनि सरकार यी सबै विषयमा मौन देखिएको उनको गुनासो थियो।

यस्तै, उनले किसान जहिले पनि ठगिएको भन्दै किसानको पक्षमा बोलिदिने कोही नभएको गुनासो पोखे। नार्कका पूर्व निर्देशक डा. टेकबहादुर गुरुङले दुःखको मूल्य नपाए पनि उत्साहित रूपमा अगाडी बढेका बाख्रा पालक किसानहरूको ऊर्जाले आफूलाई निकै खुसी तुल्याएको बताए।

साथै, कृषि क्षेत्रको भविष्य निर्माण गर्नको लागि अन्य क्षेत्रले समेत भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा थियो। आफूले नेपालको प्रथम राष्ट्रिय बाख्रा सम्मेलन गरेको स्मरण गर्दै उनले भने,‘नेपाली किसानहरूको हितको लागि सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्छ। नेपालका जडीबुटी खाएर हुर्किएका बाख्राको महत्त्व फरक छ भन्ने महत्त्व बुझाउन सक्नुपर्छ।’ बिमामा देखिएका समस्या समाधानमा सरकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ। आजको पत्रकार सम्मेलनको सञ्चालन भने महासंघका केन्द्रीय महासचिव अमृत तिवारीले गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्