‘क्यान इन्फोटेक’ को तयारी अन्तिम चरणमा, यस्ता छन् विशेषता

लोकपाटी न्यूज
6 Shares

काठमाडौं। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२२’को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। क्यान महासंघले काठमाडौंको भृकुटीमण्डपमा वैशाख ७ गतेदेखि ६ दिनसम्म सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०२२’ आयोजना गरिने जनाएको हो।

सूचना प्रविधि सम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीहरूको क्षमता विकास गर्ने र उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्ने उद्देश्यका साथ क्यान इन्फोटेक प्रदर्शनीको आयोजना गर्न लागिएको जनाएको छ। यो प्रदर्शनीले इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मदत पुग्ने र व्यवहार उपयोगी शिक्षामा योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधि र उपकरणहरूको अवलोकन तथा खरिद गर्न सकिने छ। साथै, सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका व्यवसायीहरूका लागि मेलालाई व्यापार विस्तारका लागि एउटा अवसरको रूपमा रूपमा उपयोग गर्ने सक्ने पनि क्यान महासंघले जनाएको छ।

प्रदर्शनीमा सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरूका लागि प्रविधिको विकास र त्यसको प्रयोगबारे जान्ने मौका समेत पाउने आयोजकको दाबी छ। क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्स, टेक्नोलोजी, वाईफाइ तथा इन्टरनेट लगायतका कुराहरु रहनुका साथै व्यवसायीहरूले सफ्टवेयहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर, सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेक्सटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीटीटीभि र हार्ड डिक्स जस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राखिनेछन्।

त्यसैगरी, आर्टीफिसियन इन्टेलिजेन्स सम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बिमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युरियल आदी पनि प्रदर्शनमा रहिने छन्।

२७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह-प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजी (एससिटी) का साथै सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्य कम्पनी तथा संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ। यसअघि पुस माघ फागुनमा आयोजना हुने क्यान इन्फोटेक २०२२ कोभिड-१९का कारण प्रभावित भएको थियो। विगतका वर्षभन्दा यस वर्ष यो प्रदर्शनी तीन महिना ढिलोगरि आयोजना हुन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्