काठमाडौं। चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा पहिलो जित निकालेको छ। मगलबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले हराउँदै चेन्नईले ५ खेलबाट पहिलो जित हात पारेको हो।
२ सय १७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९३ रन मात्र बनाउन सक्यो। बेंगलोरका लागि शहबाज अहमदले सर्वाधिक ४१ रन बनाए। यस्तै डेब्यू खेल खेलेका सुयश प्रभुदेशाईं र दिनेश कार्तिकले समान ३४-३४ रन जोडेका थिए।
ग्लेन म्याक्वेलले २६ रन बनाउँदा मोहम्मद सिराजदे १४ र अनुज रावतले १२ रनकाे याेगदान दिए। चेन्नईलाई जिताउन स्पिनर महेश थिक्सना र रविन्द्र जडेजाले सानदार प्रदर्शन गरे। महेशले ४ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए। यस्तै जडेजाले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट हात पारे। ड्रुएन ब्राभो र मुकेश चौधरीले समान १-१ विकेट हात पारे।
त्यसअघि डि वाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो। चेन्नईका लागि शिवम् दुबे र रोबिन उथप्पाले सर्वाधिक अर्धसतकीय इनिङ्स खेले। ४६ बल खेलेका दुबेले ५ चौका र ८ छक्कासहित ९५ रनमा अविजित रहे। यस्तै ५० बल खेलेका उथप्पाले ४ चौका र ९ छक्कासहित ८८ रनको उत्कृष्ट प्रदर्शन गरे। दुबे र उथप्पा दुबैको आइपिएल करिअरको उत्कृष्ट प्रदर्शन हो।
दुबेले र उथप्पाले तेस्रो विकेटका लागि ७४ बलमा १ सय ६५ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए। आइपीएलमा यो तेस्रो विकेटका लागि भएको उच्च साझेदारीसमेत हो। यसअघि तेस्रो विकेटका लागि सन् २०१२ मा डेक्कन चार्जसका कुमार संगाकारा र क्यारन ह्वाइटले १ सय ५७ रनको साझेदारी गरेका थिए।
यस्तै ओपनर ऋतुराज गायकवाड १७ रन बनाएर आउट भए। मोईन अली ३ रनमा रन आउट हुँदा रविन्द्र जडेजा शून्य रनमा आउट भए। महेन्द्र सिंह धोनीले बल खेल्न पाएनन्। पहिलो १० ओभरमा ६०-२ को अवस्थामा रहेको चेन्नईले पछिल्लो १० ओभरमा १ सय ५५ रन बनाउँदै विशाल योगफलसम्म पुर्याएको थियो।
बेंगलोरका लागि बेंगलोरका वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए। अष्ट्रेलिया तीव्र गतिका बलर जोश हेजलवुडले १ विकेट हात पारे।
चेन्नईको पहिलो जितसँगै यस्तो बन्यो अंक तालिका: