प्रचण्डकाे शुभकामना सन्देश : वाम–लोकतान्त्रिक उम्मेदवारलाई विजयी गराऔं

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उमेदवारलाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन्।

बिहीबार बिहान नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना दिँदै प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गर्न आग्रह गरेका हुन्।

अध्यक्ष प्रचण्डले नयाँ वर्षले सामाजिक न्यायसहितको समृद्धिमार्फत् समाजवादको यात्रामा अग्रसर हुन नयाँ वर्षले प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन्। उनले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराउने विश्वास व्यक्त गरे।

शुभकामना सन्देशको पूर्णपाठ यस्तो छ:

नयाँ वर्ष वि. सं. २०७९ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु।नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गर्दछु ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा हामी दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । संघीयतालाई जनताको घरदैलोसम्म पुर्याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनैतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको छ

देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ। लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपील गर्दछु।

०१ बैशाख, २०७९

पुष्पकमल दाहाल ‘प्रचण्ड’

अध्यक्ष