विवेकशील साझाका नेताले कल्पना गरेको ४ वर्षपछिको बिहानीमा भरतपुर सेन्ट्रल पार्क

लोकपाटी न्यूज

भरतपुर। विवेकशील साझा पार्टीबाट भरतपुर महानगरको उमेद्वारी तयारी गर्दै गरेका २८ बर्से इन्जिनियर प्रविन काफ्लेले आजको ४ वर्षपछिको एक बिहानीको कल्पना गरेका छन्।

भरतपुर महानगरभित्रको उक्त काल्पनिक बिहानीमा उनले उद्यमशीलता प्रवर्धन, औद्योगीकरण ,मौलिकताको प्रवर्धन, हरेक क्षेत्रमा खेल मैदान, सामूहिकताको विकास, इलेकट्रिक सवारी साधनको प्रयोग ,उच्चस्तरीय सार्वजनिक अस्पताल, भरतपुर सेन्ट्रल पार्क समेटेका छन्।

उनले लेखेका छन्, ‘ हामीले परिकल्पना गरेको ४ वर्षपछिको बिहानी! आजलाई शुभ रात्री! एकाबिहान घरनजिकको खेलमैदानको हल्लाखल्लाले ब्युँझिए। हिजो रातिसम्म कार्यालयको कामले गर्दा ढिलो सुत्नु पर्‍यो क्यारे, मस्त निदाइएछ। कोठाको झ्याल बन्द गरी केही समयमै तयार हुँदै लुगा फेर्दा अस्ति साथीको गार्मेन्ट उद्योगबाट उठाएको कट्टु त हिजोको खेलपछि धुनै बिर्सेछु। यसो दराजमा भेटिएको माडीबाट काकाले आफ्नो उद्योगबाट पठाइदिएको धोल्लो हेल्प जागे भिरेँ अनि योगा गर्दै गरेका मेरा बाबा आमालाई हल्ला नगरी कुदेँ। मोबाइल र स्कुटर चार्जमा राख्न पाइएन। लौजा ! आज त मैदानको सरसफाइको पालो मेरो र छिमेकी डाक्टर काकाहरूको थियो। खुब गाली खाइयो। हाँस्दै सरि भने अनि टिटिको ब्याट समाएर लास्ट प्ले टोकेँ। १ घण्टाको धूमधाम प्रतिस्पर्धा पछि निथ्रुक्क भिजेका मेरा लुगा मलाई खुब गदगद बनाइरहेका थिए। मेरा छिमेकी डाक्टर काकाहरू घर छेउको सार्वजनिक अस्पतालको नयाँ मेशिनको कुरा गर्न थाले ,साथीहरू भरतपुर सेन्ट्रल पार्कमा एक भेटघाटको तयारीमा लाग्दै गर्दा म भने घर फर्किएँ।’