चुनाव देशका दलाललाई ठेगान लगाउने मौका

Dalal-Leader
लोकपाटी न्यूज
24 Shares
  • उमेश थापा

नेपालमा अधिकांश महिलाहरू घरायसी काम गर्दछन्। त्यसैगरी, निजी क्षेत्रमा आबद्ध हुनेको संख्या पनि उत्तिकै छ। यी क्षेत्रमा काम गर्नेको मासिक तलब निकै न्यून छन्। न त महंगी बढेअनुरूप यिनीहरूको तलब बढाउँछन् न त सेवा सुविधा नै दिन्छन्। संघ संस्था, होटल, यातायात, निजी बोर्डिङमा काम गर्ने व्यक्तिको तलब निकै कम छ। तापनि, रातदिन नभनी खटिन उनीहरू बाध्य छन्।

बिहान ९ बजेदेखि बेलुकाको ७ बजेसम्म काम थोरै तलबमा काम दलाइन्छ। यी क्षेत्रमा काम गर्ने व्यक्तिलाई नियुक्ति पत्रसमेत दिइएको पाइँदैन। जतिखेर मन लाग्यो त्यतिखेर साहुले कामबाट निकालिदिन्छन्। यिनीहरूलाई सञ्चय कोषको व्यवस्थासमेत गरिएको पाइँदैन। न त बिमा नै गरिएको हुन्छ। आफ्नै आफन्तलाई भित्रभित्र छिराउने प्रवृत्तिले नेपालमा सरकारी जागिर खान निकै गाह्रो छ। मुलुकका ७७ प्रतिशत मानिसहरू निजी कार्यालयमा कार्यरत छन्। यी कार्यालयमा जागिर खानेहरूले समयमा तलब पाउँदैन। २०७८ साल असारमा बैंकमार्फत तलब दिने भने राजपत्रमा प्रकाशित गरियो। ०७८ साल साउन १ गतेदेखि सो निर्णय कार्यान्वयनमा जाने भनिएको थियो। बैंकमार्फत तलब दिने प्रणालीले सरकार र न्यून तलबमा काम गर्ने आम नागरिकहरूलाई निकै लाभ हुने देखिन्थ्यो। तर, निजी संघ संस्था, होटल, यातायात, निजी बोडिङहरुले सरकारको निर्णय मानेन।

आफैले बनाएको निर्णय सरकारले कार्यान्वयनमा लैजान सकेन। जसले गर्दा न्यून तलबमा काम गरिरहेका आम नागरिकहरू झन् मारमा परे। राज्यले पनि राजश्व पाएन। निजी क्षेत्र वा काम लगाउने व्यक्तिहरू सरकारलाई खुलेआम चुनौती दियो। काम गर्ने व्यक्तिको पनि शोषण भयो। महिनाभरि घरमा काम गर्ने व्यक्तिको तलब तीन हजार देखि पाँच हजार मात्र छ। त्यति पैसाले के हुन्छ ? अहिले एउटा कोठाको मासिक भाडा पाँच हजार देखि सात हजार तिर्नुपर्छ। घरधनीले प्रत्येक तीन महिनामै कोठा भाडा बढाउँछ पसलले हप्तै पिच्छे सामानको मूल्य बढाउँछ।

महँगी बढ्यो तलब बढाइदिनु पर्‍यो भन्यो भने कामबाट निकाल्दिन्छन्। सरकारले वर्षमा सार्वजनिक सवारी साधनको भाडा दुई चोटि बढाउँछ। सरकारले सामानको रेट निर्धारण नगरिदिँदा व्यापारीको जिब्रोमा रेट छ। अहिले काम गर्ने व्यक्तिहरूको तलब बढाउन जरुरी देखिएको छ। अर्थ मन्त्रालयले २०७९ साल जेठ १५ गते बजेट पेश गर्छ। बजेटमा गरिब जनताको विषय पनि समेट्नुपर्छ। आगामी बजेटमा काम गर्ने हरेक कामदारको न्युनतम तलब बढाएर पन्ध्र हजार बाट पच्चीस हजार पुर्‍याउनु पर्छ। सञ्चय कोष, बैंङिक प्रणाली, बिमा, बोनसको व्यवस्था हुनुपर्छ।

प्राइभेट कार्यालयमा काम गर्ने कामदारहरूलाई सरकारी जागिरे झैँ सेवा सुविधाको व्यवस्था मिलाउनु पर्छ। जस्तै, दसैँ बोनस, उपचार खर्च, लता कपडाको व्यवस्था प्राइभेट संघसंस्थामा काम गर्नेहरूको पनि हुनुपर्छ। निजी क्षेत्रमा काम गर्ने व्यक्तिहरूको बिमा अनिवार्य गराउनुपर्छ। प्राइभेट कार्यालयमा काम गर्ने व्यक्तिहरूले सरकारी कर्मचारी झैँ सेवा सुविधा पाउनुपर्छ। काम लगाउने व्यक्ति, संघ संस्थानहरू आफू महलमा बस्छन्। सुकिलामुकिला लुगा लगाउँछन्। तर, आफ्नो घर वा संघ संस्थानमा काम गर्ने कामदारहरूको शोषण गर्छन्। काम गर्ने व्यक्तिको रगत पसिनाबाट आफू धनी भई रहेको छन्।

त्यही काम गर्ने कामदारको छोराछोरीले पढ्नसमेत पाएका छैनन्। खानु कि लाउनु भन्ने अवस्थामा छोराछोरी कसरी पढाउने ? नेपालको राजनीतिक दलका नेताहरूले गरिबहरूको नारा लगाएर आफू सत्तामा पुग्यो। त्यही गरिबहरूलाई सडकमा उतारेर उनीहरूलाई नै सहिद बनाए। उनीहरू कै बलमा राजनीतिक परिवर्तन भयो। अन्ततः उनीहरूलाई नै बिर्सिए। विदेशीको दलाल बने। गरिबीको खाडल झन्झन् गहिरो हुँदै गयो। देश विदेशीको ऋणको दलदलमा फस्दै गयो। विदेशी ऋण भ्रष्टाचार गर्दै सिद्धायो।

जनताले तिरेको कर पनि सिद्धाए। नागरिक रोजगारी नपाएर खाडी मुलुक जान बाध्य छन्। नेपाललाई परनिर्भर बनाउने पन यिनै हुन्। नेताको सम्पत्ति छानबिन गर्ने न त अख्तियार ले सक्छ ? न त सम्पत्ति शुद्धीकरणले सक्छ ? ३५ वर्ष अगाडि यिनै नेताहरूसँग न चप्पल लगाउन सक्थे न त एक्लै कोठा लिएर बस्ने हैसियत नै थियो। अहिले यिनै नेताहरूको घर १ रोपनी देखि ३ रोपनी जग्गामा बनेको छ। सेयरमा लगानी सुन चाँदीमा अत्यन्तै जोडेका छन्। नेपाली बैंङक मात्र नभई विदेशी बैंकमा पनि पैसा राखेका छन्। सबै भन्दा सजिलो नाम पनि कमाउने दाम पनि कमाउने राजनीतिक रहेछ लगानी पनि गर्न नपर्नै राजनीतिक सेवा होइन व्यापार भयो।

कुनै १४ वर्ष जेल बसेको लगानी उठाइरहेका छन्। कुनै नेता १० वर्ष युद्ध गरेको भन्दै साहु ब्याज उठाउने कोसिस गरिरहेका छन्। कुनै नेता जिब्रोमा करेन्ट लगाएमा भन्दै साहु व्याज खाई रहेको छ। गरिबी हरेक दिन बढ्दो छ। महंगीले सीमा नाघिसकेको छ। विदेशी हस्तक्षेप पनि दिनप्रतिदिन नेपालमा बढ्दो छ। नेपालको राजनीतिक दलहरू जनतालाई ढाँटेर जनताको मत लिएर सत्तामा कसरी पुग्ने भन्ने मात्र छ। यिनीहरूलाई देश र जनताको माया छैन। अबको चुनावमा जनतालाई यस्तालाई चिन्नै पर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्