माओवादीका चार शिक्षामन्त्री : अँध्यारोका जुनकिरी !

Education Ministers
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएयता माओवादीले पाँचपटक शिक्षा मन्त्रालयको नेतृत्व गर्ने अवसर पायो। आफूले अवसर पाएको समयमा माओवादी मन्त्रीहरूले भनेजति काम गर्न त सकेनन्। तर, जति काम गरे, ती काम अरू पार्टीबाट मन्त्री भएकाहरूभन्दा नवीन र मौलिक खालका छन्।

शान्ति प्रक्रियापछि माओवादीबाट दीनानाथ शर्मा, गिरिराजमणि पोखरेल, धनीराम (डिआर) पौडेल र देवेन्द्र पौडेल मन्त्री भए। त्यसमध्ये गिरिराजमणि पोखरेलले २ पटक शिक्षा मन्त्रालयको नेतृत्व गरे। माओवादीका चार मन्त्रीले पाँचपटक शिक्षा मन्त्रालयको जिम्मेवारी लिँदा शिक्षामा कैयौं नवीनतम् कामहरू भएका छन्।

त्यसमध्ये अहिलेका शिक्षामन्त्री देवेन्द्र पौडेलको ध्यान वर्षौंदेखि जकडिएर बसेका समस्याहरूको सम्वोधनमा केन्द्रित देखिन्छ। उनले द्वन्द्वपीडित शिक्षाको पुनर्बहाली गराइसकेका छन् भने विद्यालयका शिक्षक, कर्मचारीका अधिकांश मागहरू सम्वोधनको सुरूवात गरेका छन्।

माओवादी मन्त्रीहरूले आफ्नो कार्यकालमा सैद्धान्तिक शिक्षालाई प्राविधिक ढाँचामा बदल्न र शिक्षामा पुनर्संरचना गर्न आफ्नो ध्यान दिएको देखिन्छ। उनीहरूको कार्यकालमा भएका मुख्य कामहरू यस्ता छन्।

 शिक्षामा पुनर्संरचना गरी संघीय नीति र ढाँचाअनुरूप शैक्षिक नीति र संरचनाहरू रूपान्तरित गर्न माओवादी मन्त्रीहरूले जोड दिएका छन्। मन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तयार भए पनि ओली नेतृत्वको सरकारले त्यसलाई लागू गरेन। हाल शिक्षामन्त्री पौडेलले प्रतिवेदन कार्यान्वयनका लागि प्रयास गरिरहेका छन्।

 माओवादी मन्त्रीहरूकै कार्यकालमा मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय जस्ता महत्वपूर्ण प्राविधिक विश्वविद्यालयहरूको स्थापना भए। साथै खुला विश्वविद्यालय स्थापना गरी अनौपचारिक ज्ञान र बौद्धिकतालाई स्थापित गर्न माओवादी मन्त्रीहरूले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।

 माओवादी नेतृत्वको सरकारले निरक्षरता उन्मूलनमा जोड मात्र दिएन, निजी विद्यालयलाई ५ प्रतिशत प्रगतिशील कर लागू गर्दै उक्त करबाट उठेको रकम सार्वजनिक विद्यालयले प्रवद्र्धन र सुधारका निम्ति खर्चिने नीति अवलम्बनसमेत गर्‍यो।

 माओवादीको प्रस्तावमा माध्यमिक तहसम्म निशुल्क शिक्षाको व्यवस्थालाई संविधानमा मौलिक हकका रूपमा लिपिवद्ध गरियो। हाल संविधानमा व्यवस्था भएको मौलिक हकलाई व्यवहारिक कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढिरहेको छ।

 विद्यार्थी र विद्यालयहरूलाई दिइँदै आइएको छात्रवृत्तिको दर र दायरामा व्यापक बढोत्तरी, दिवा खाजा र प्रोत्साहन भत्ताको व्यवस्था, छात्रवृत्तिमा व्यापक विकास र प्राविधिक शिक्षामा जोड दिई प्राविधिक शिक्षामा राज्यको लगानी बढोत्तरीको काम पनि यसै अवधिमा सम्पन्न भएका छन्।

 वहालवाला शिक्षामन्त्री पौडेलको कार्यकालमा सशस्त्र द्वन्द्वको क्रममा राज्यको चरम दमनका कारण विस्थापित भएका ५८६ जना शिक्षक तथा कर्मचारीहरू पुनस्र्थापित भएका छन्। सार्वजनिक विद्यालयको गुणस्तर सुधार र शिक्षामा विद्यार्थीलाई आकर्षित गर्न ‘पढ्दै कमाउँदै’ कार्यक्रम तर्जुमा गरी लागू गरिएको छ।

 देशका सातवटै प्रदेशमा एक/एक वटा कृषि क्याम्पस सञ्चालन, मेडिकल शिक्षालाई व्यवस्थित गर्न चिकित्सा शिक्षा ऐन २०७५ जारी गरी लागू, चिकित्सा शिक्षा आयोग गठन, मेडिकल शिक्षामा ७५ प्रतिशत छात्रवृत्तिको प्रबन्ध यसै कार्यकालमा मिलाइएको छ।

 सार्वजनिक विद्यालयमा अध्यनरत सम्पूर्ण छात्राहरूलाई निशुल्क स्यानेटरी प्याडको व्यवस्था, सबै स्थानीय तहमा प्राविधिक धारका कार्यक्रम बिस्तार गर्ने योजनासहित एक स्थानीय तह एक प्राविधिक शिक्षालयको कार्यक्रम पनि माओवादी मन्त्रीहरूले नै अगाडि बढाएका छन्।

 सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने लक्ष्यअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीमा गेटा मेडिकल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मेडिकल कलेज, सुर्खेत, लुम्विनी प्रदेशमा बुटवल मेडिकल कलेज र मधेश प्रदेशमा बर्दिवास मेडिकल कलेज स्थापना र सञ्चालनको प्रक्रिया यसै अवधिमा अगाडि बढेका छन्।

 निर्मल लामा बहुप्राविधिक शिक्षालय महोत्तरी, रामवृक्ष बहुप्राविधिक शिक्षालय धनुषा, थाहा बहुप्राबिधिक शिक्षालय मकवानपुर, दिवाकर बहुप्राविधिक शिक्षालय माडी चितवन, सहिद दिनेश रामजी बहुप्राविधिक शिक्षालय सिन्धुपाल्चोक, सहिद कृष्णसेन बहुप्राविधिक शिक्षालय दाङ, सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय पश्चिम रुकुम, सहिद व्रिषबहादुर सिंह बहुप्राविधिक शिक्षालय बझाङ, पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोट, सहिद सुरेश वाग्ले ‘वासु’ स्मृति क्यान्सर अस्पताल माओवादी नेतृत्वको सरकार र मन्त्रीहरूकै कार्यकालमा सम्पन्न भएको देखिन्छ।

 सहिद प्रतिष्ठानअन्तर्गत सुनसरी, दोलखा, पोखरा, दाङ र डोटीमा माध्यमिक तहसम्म सहिद स्मृति विद्यालय सञ्चालन र ती विद्यालयमा प्राविधिक शिक्षा पढाउने गरी व्यवस्था यसै अवधिमा सम्पन्न भएका छन्।

 शिक्षकहरूको स्वास्थ्योपचारलाई उच्च प्राथमिकता दिँदै चितवनको भरतपुरमा राष्ट्रिय शिक्षक अस्पताल निर्माण गर्ने गरी कार्य अघि बढेको छ।

 माओवादी केन्दका अध्यक्ष प्रचण्डले २ पटक सरकारको नेतृत्व गरे। त्यस अवधिमा शिक्षा क्षेत्रमा सबैभन्दा बढी काम भएको देखिन्छ। पहिलो कार्यकालमा विभिन्न विश्वविद्यालयहरूको स्थापना, शिक्षामा पुनर्संरचनामा बढी जोड भएको देखिन्छ भने दोस्रो कार्यकालमा संस्थागत सुधार र सुशासनका क्षेत्रमा महत्वपूर्ण काम भएको देखिन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्