नेपालले विवेक पुर्‍याएर काम गरेको छ, आर्थिक संकट आउँदैन : विश्व बैंक

world_bank_VKhDomORZl
लोकपाटी न्यूज

काठमाडौं। विश्व बैंकले नेपालको अर्थतन्त्र हाल संकटमा नरहेको र संकटउन्मुख पनि नभएको बताएको छ। विश्व बैंकले आफ्नो अर्धवार्षिक प्रतिवेदन नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै आफूले नेपालको अर्थतन्त्र संकटमा रहेको कहिल्यै नबताएको पनि उल्लेख गरेको छ।

‘अहिले नेपालसँग साढे ६ महिनाको आयात मात्रै धान्ने विदेशी मुद्राको सञ्चिति भएका कारण अर्थतन्त्र संकटमा रहेको हो कि भन्ने शंका गरिएको छ। तर, विदेशी मुद्राको सञ्चितिले कति महिनाको आयात धान्छ भन्ने कुरा कथाको आधा भाग मात्रै हो,’ विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले भनिन्, ‘यसलाई पूर्ण रूपमा हेर्न मुलुकले कति वैदेशिक ऋण तिर्नुपर्नेछ भन्ने हेर्नुपर्छ। त्यसतर्फ नेपालको अवस्था सहज छ।’

नेपालले उच्च ब्याज तिर्नुपर्ने व्यावसायिक ऋण नलिएकाले पनि नेपाललाई विदेशी मुद्राको संकट नपर्ने ब्रुक्सले बताइन्। श्रीलंकाप्रति संकेत गर्दै ब्रुक्सले भनिन्, ‘केही छिमेकी मुलुकको वैदेशिक ऋण पनि उच्च छ, उनीहरूले व्यावसायिक ऋण पनि लिएका छन्, व्यावसायिक विदेशी ऋण नलिएर नेपालले विवेकपूर्ण काम गरेको छ,’ ब्रुक्सले भनिन्।

अहिले नेपालको कुल ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ४३.१ प्रतिशत मात्रै छ, आगामी वर्ष यो ४४.५ प्रतिशतसम्म पुग्ने र त्यही बिन्दुमा स्थिर रहने प्रक्षेपण विश्व बैंकको छ। आगामी दिनमा रेमिट्यान्स आप्रवाह पनि राम्रो हुने हुनाले मुलुक संकटतर्फ होइन, पुनरुत्थानतर्फ जाने विश्व बैंकको ठहर छ। ‘हामीभन्दा बढी तथ्यांक सरकारसँग छ, तर हामीसँग जति तथ्यांक छ, त्यसले अर्थतन्त्र संकटतर्फ जाने कुनै संकेत गर्दैन,’ ब्रुक्सले भनिन्।

पछिल्लो समय औद्योगिक आयातमा वृद्धि भइरहेको र यो अर्थतन्त्रका लागि राम्रो भएको उनले बताइन्। राष्ट्र बैंकले हाल आयात घटाउन यससँग सम्बन्धित कर्जामा गरेको कडाइ अल्पकालीन उपाय भएको उनले बताइन्। -नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्