यो चुनाव गठबन्धनको अग्निपरीक्षा हो : प्रचण्ड

prachanda
लोकपाटी न्यूज
14 Shares

भरतपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताएका छन्। तर, गठबन्धनको बारेमा चुनाव चिह्नको विषयलाई लिएर नकारात्मक कुराहरू फैलाएमा उनले दुख लागेको बताए। राष्ट्रको आवश्यकतालाई ध्यान दिएर पाँच दलीय गठबन्धन बनाएको उनको भनाइ छ।

गठबन्धनले भरतपुरमा बिहीबार आयोजना गरेको आमसभामा प्रचण्डले भने, ‘रूखवालाले हँसिया हथौडामा भोट हाल्न अप्ठ्यारो पर्छ भोट हालिँदैन भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ। गठबन्धनलाई देशको आवश्यकता मान्नुहुन्छ भने भोट हाल्नुहोस्। अब फैसलाको अधिकार नेतालाई मात्रै छैन, जनतालाई पनि छ। हामीले राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन गरेका हौं। तपाईंहरूले बुझ्नुभयो भने यो गठबन्धन दशकौं जान्छ।’

उनले गठबन्धनको नेता कार्यकर्ताहरूको यो चुनाव अग्निपरीक्षा रहेको बताए। ‘म नेता कार्यकर्तालाई पनि भन्न चाहन्छु, दीगोरुपमा गठबन्धन बनाउन दिनुहुन्छ कि प्रचण्डलाई टेन्सन दिन चाहनुहुन्छ तपाईंहरुको हातमा छ,’ प्रचण्डले भने।

लाल सलाम र जय नेपालको सुरुवात ०४६ को आन्दोलनपछि भएको उनले बताए। संयुक्त जनआन्दोलनदेखि शान्ति प्रक्रियासम्म वाम-लोकतान्त्रिक शक्तिले सहकार्य गरेर अगाडि बढेको उनले स्मरण गरे। उनले प्रश्न गरे, ‘विस्तृत शान्ति सम्झौता सही थिएन ? वामपन्थी र लोकतन्त्रवादीको सहकार्य उचित थिएन ? गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य र एकताको कुरा गरेको ठीक थिएन ?’

प्रचण्डले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेलले अन्तिम समयसम्म बिचार गर्ने विश्वास लिएको बताए। पौडेलले अन्तिम समयसम्म विचार नगरे पनि आफ्नो चित्त दुखाई नहुने उनले बताए। उनले भने, ‘मलाई विश्वास छ, अन्तिमसम्म उहाँहरूले बिचार गर्नुहुनेछ। विचार गर्नुभएन भने पनि जगन्नाथसँग मेरो कुनै विद्वेष हुनेछैन। उहाँको अधिकार हो। उहाँको लोकतान्त्रिक अधिकार हो उहाँले आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ। तर गठबन्धन र नेपाली जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छ। चितवनका परिवर्तनकारी, क्रान्तिकारी जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छन्। जनताले गरेको फैसला सर्वस्वीकार्य हुनेछ।’

प्रचण्डले एमालेसँग आफूले एकता गरेर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती कहिल्यै नदोहोर्‍याउने उल्लेख पनि गरे। उनले भने, ‘मैले एक पटक त गल्ती गरेँ, अब दोहोराउँदिन। भन्दिनुहोला, चितवनका सबै राजनीतिक कार्यकर्ताहरूलाई। म त्यो गल्ती दोहोराउन्न। म जनताको फैसला हेर्न चाहन्छु।’