प्रतिगामीलाई परास्त गरौं भन्दा जनता धम्क्यायो पो भनियो : प्रचण्ड

prachanda
लोकपाटी न्यूज
8 Shares

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन प्रदेशसभा र संघीय निर्वाचनसम्म रहने दाबी गरेका छन्। पोखरामा आइतबार आयोजित गठबन्धनको चुनावी सभामा उनले देशलाई राजनैतिक स्थायित्व र आर्थिक विकास गर्नका लागि गठबन्धन आवश्यक रहेको बताए। देश र जनताको भविष्य सम्झेर देशभर गठबन्धन गरेको प्रचण्डले बताए।

देशमा गठबन्धनको संयुक्त सरकारको तरिकाबाट मात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्ने सम्भावना रहेको उनले उल्लेख गरे। ‘राजनीतिक दुर्घटनामा जान र प्रतिगमनबाट बचाउन, निरंकुसता, तानाशाही अनि अराजकताबाट बचाउन गठबन्धन भएको हो। गठबन्धन टुटाउने प्रयास गठबन्धन भएदेखि नै भइरहेको छ। अहिले पनि विभाजित गर्ने षड्यन्त्र चलिरहेको छ। अप्ठ्यारासँग जोडेर गठबन्धन जोगाउने काम गरेका छौं,’ उनले भने।

देशका लागि परिवर्तनको रक्षा र आवद्ध दललाई फाइदाका लागि गठबन्धन गरिएको उनको भनाइ थियो। ‘गठबन्धन एकातिर विचार, राजनीति, मुद्दामा एकता, संविधान, गणतन्त्र, संघीयताको रक्षामा एकता, अर्कोतिर सबैलाई फाइदा,’ उनले भने, ‘यो गठबन्धनबाट ५० प्रतिशत नेपाली काँग्रेसलाई फाइदा, माओवादी केन्द्र, समाजवादी, जनता समाजवादी, जनमोर्चा सबैलाई फाइदा हुने भएकोले हुने हो गठबन्धन। एकातिर मुद्दा मिल्ने अर्कोतिर फाइदा हुने भयो भने गठबन्धन अगाडि जान्छ।’

आफूले संघीयता विरोधीहरूलाई परास्त नगरे देशमा राजनीतिक दुर्घटनाको खतरा छ भन्दा जनतालाई दिएको धम्कीको रूपमा अर्थ्याइएको उनको टिप्पणी छ। ‘नेपाली काँग्रेसको नेतृत्वको सरकारलाई सफल गराउन आग्रह गर्दै गर्दा कतिपय मानिसले जनता धम्क्यायो। हामीलाई नजिताए दुर्घटना हुन्छ भन्यो भनेका छन्। यो गठबन्धन देशलाई राजनीतिक दुर्घटनाबाट जोगाउन जन्मिएको हो। यदि यो गठबन्धन दायाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ। त्यसकारण राजनीतिक दुर्घटनाबाट देशलाई जोगाउनका निम्ति गठबन्धनलाई सफल बनाउनुपर्छ। नत्र राजनीतिक दुर्घटनाको खतरा छ भनेको हो,’ प्रचण्डले भने।