स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणमा कोशेढुंगा बनोस् : प्रचण्ड

Prachand
लोकपाटी न्यूज
8 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी तत्त्वहरूले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षडयन्त्र गरिरहेको बताएका छन्। स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा एक अपिल जारी गर्दै उनले आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सिंहदरबार केन्द्रित अधिकार जनताको घरदैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्। संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने पक्षले षड्यन्त्र गरिरहेको प्रचण्डको भनाइ छ।

‘हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएका छौं। हामीले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न सकेका छैनन्,’ उनले भनेका छन्, ‘त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा,स्वास्थ्य, रोजगारीको सुनिश्चितता मार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रो सामु छ।’

कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगीकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबै खाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत-पसीना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने उनको भनाइ छ। ‘इतिहासले माओवादीलाई यो जिम्मेवारी सुम्पिएको छ। हामीलाई यथास्थितिमै रुमल्लिन रहर र छूट दुवै छैन,’ उनले अपिल गर्दै भनेका छन्, ‘त्यसैले अग्रगमन र प्रतिगमनको लडाइँमा नेकपा (माओवादी केन्द्र)लाई मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौं।’