एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनसले आफ्नी छोरी मालती मेरी चोपडा जोनासलाई सय दिनपछि घरमा ल्याएका छन्।
जन्मिँदै स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूले आफ्नी छोरीलाई एनआइसियू (नियोनेटल इन्टेन्सिभ केयर युनिट) मा राखेका थिए।
छोरीलाई घरमा ल्याएपछि उनीहरूले ‘मदर्स डे’ मनाएका छन्। उनीहरूले सामाजिक सञ्जालमा छोरीको तस्बिर पनि पोस्ट गरेका छन्। तर उनको अनुहार सेतो हार्ट इमोजीले लुकाइएको छ।
प्रियंकाले लामो स्टाटस लेख्दै छोरी मालती अपरिपक्व जन्मिएको र उनलाई एनआइसियूमा सय दिन राखिएको उल्लेख गरेकी छन्।
‘प्रत्येक परिवारलाई कुनै न कुनै किसिमको यात्रा गर्नुपर्ने हुन्छ। हाम्रो लागि पनि केही महिना चुनौतीपूर्ण थियो। बच्चाको जुनसुकै हलचल कति महत्वपूर्ण हुने रहेछ। हामी हाम्रो छोरीलाई घर ल्याउन पाउँदा एकदमै खुसी छौं र मालतीको ख्याल गर्ने चिकित्सक र स्वास्थ्यकर्मीप्रति आभार। अब हाम्रो जीवनको अर्को अध्याय सुरू भएको छ,’ उनले इस्टाग्राममा लेखेकी छन्।
प्रियंकाको उक्त पोस्ट निकले पनि आफ्नो इन्स्टाग्राममा सेयर गरेका छन्। उनले आफ्नी पत्नीलाई उत्कृष्ट आमाको सम्बोधन गरेका छन्।
गत माघमा उनीहरूले सरोगेसीका माध्यमबाट छोरीलाई जन्म दिएका हुन्। उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएका थिए।
छोरी जन्मेको खबर पनि उनीहरूले निकै समयपछि मात्र सार्वजनिक गरेका थिए।
निक र प्रियंकाका निकटहरूका अनुसार उनीहरूले आ–आफ्नो संस्कृतिअनुरूप छोरीको नाम राखेका हुन्। हिन्दु नाम मालती र अंग्रेजी नाम मेरी उनीहरूले बीचको नाम (मिडल नेम) का रूपमा राखेको उनीहरूले जनाएका छन्।