लालमणि चौधरी : जसको नेतृत्वले खैरहनी उत्कृष्ट बन्यो

लोकपाटी न्यूज
8 Shares

खैरहनी। सरकारी जागिर खाएको भए सहसचिव, सचिव भएर अहिले अवकाश हुने वेला हुन्थ्यो। सँगै पढेका साथीहरू सरकारी जागिरपछि अवकाश पनि भइसके। तर लालमणि चौधरीलाई जागिर भन्दा पनि राजनीतिबाट समाजका लागि केही काम गर्छु भन्ने लाग्यो। रामपुर कृषि क्याम्पसमा पढ्दै गर्दा एमालेका नेताहरू भरत भण्डारी र मुकुन्द दाहाल रामपुर पुगेर चौधरीलाई स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरे। सुरुमा आनाकानी गरेका चौधरीले अन्ततः निर्वाचन लड्ने निधो गरे, अनि २०४९ को निर्वाचन लडे।

निर्वाचनमा उनी पराजित हुन पुगे। पराजित हुँदा कति पनि विचलित भएनन्। पदमा नरहँदा पनि उनी निरन्तर सामाजिक काममा संलग्न भइरहे। अग्रज नेताहरूको सल्लाह अनुसार निर्वाचन लडे। पहिलो पटक नै पराजित भए। चौधरी पहिलेका दिन सम्झँदै भन्छन्, ‘सरकारी जागिरमा लागेको भए माथिल्लो तहमा पुग्थे होला। तर समाजका लागि केही गर्छु भनेर राजनीतिमा होमिए।’

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालिन खैरहनी गाविस अध्यक्ष पदमा उठ्न उनलाई प्रस्ताव आयो। प्रस्तावलाई सहर्ष स्वीकार गरेर उनी निर्वाचनमा होमिए। त्यो निर्वाचनमा उनी एमालेबाट फराकिलो मतान्तरले विजयी भए । तत्कालिन द्वन्द्व कालको समयमा उनले पाँच वर्षे कार्यकाल सफल रूपमा पुरा गरे। कार्यकाल सकिएपछि उनी विभिन्न सामाजिक काममा लागे। चौधरी पर्सा खानेपानीको अध्यक्ष, खैरहनी मावि व्यवस्थापन समिति अध्यक्ष भएर काम गरे।

त्यसपछि संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट सांसदका लागि प्रस्ताव आयो। त्यो प्रस्तावलाई पनि ग्रहण गर्दै चौधरी संघीय निर्वाचनमा लडे। त्यो बेला पनि उनी सानदारका साथ विजयी भए। द्वन्द्वकालीन समय भए पनि उनी चितवनका तत्कालिन पाँच निर्वाचन क्षेत्र मध्ये एमालेबाट निर्वाचित हुने एक जनप्रतिनिधि भए। तत्कालिन नारायणी अञ्चलमा एमालेबाटबाट चौधरी सहित अर्का एक जना निर्वाचित भएका थिए। सांसद भएपछि संविधान निर्माणमा उनको ध्यान केन्द्रित रह्यो। जातीय राज्य हुनु हुँदैन भन्ने सवालमा उनले जोडदार आवाज उठाए, अन्ततः उनी सफल पनि भए।

गाविस अध्यक्ष, संघीय सांसद भइसकेका उनले २०७० सालमा भएको निर्वाचन आर्थिक समिति संयोजक भएर सुरेन्द्र पाण्डेलाई निर्वाचन जिताउने अभियानमा लागे। त्यो बेला पाण्डे भारी मतान्तरले पहिलो पटक सांसदमा निर्वाचित भए। सांसद भइसकेका चौधरीले २०७४ को स्थानीय तह निर्वाचनमा नगर प्रमुखको टिकट पाए। त्यो निर्वाचनमा आफूलाई यो जिम्मेवारी आउँछ भन्ने थाहा नै थिएन। तर पार्टीले टिकट दिएपछि उनी नगर प्रमुखका उम्मेदवार भए। निर्वाचनमा लागे। नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र चौधरीलाई उनले पराजित गरेर उनी खैरहनीको पहिलो नगर प्रमुख बने।

नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा न्यून स्रोत साधन र कम जनशक्ति थियो। नगरपालिका सञ्चालन गर्न चुनौती थियो। तर संविधानले दिएको अधिकार प्रयोग गर्दै नगर प्रमुख बनेका चौधरीले करदेखि कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापनलाई प्राथमिकता दिएर अघि बढे। उनको नेतृत्वले नगरपालिका सम्हाल्दा झण्डै ९६ लाख रुपैयाँ मात्र वार्षिक आम्दानी थियो। कर वृद्धि र दायरा बढाउने काम गरेर उनले आन्तरिक आम्दानीलाई ह्वात्तै बढाउने काम गरे। अहिले खैरहनी नगरपालिका आन्तरिक आम्दानीमा चितवनकै सर्वाधिक आम्दानी गर्ने नगर बनेको छ।

फुच्चे नगरपालिका चार पटक उत्कृष्ट

साबिकको खैरहनी, चैनपुर, कुमरोज र कठार गाविसलाई एक ठाउँ ल्याएर बनाइएको यो नगरपालिका क्षेत्रफलका हिसाबले जिल्लाकै ‘फुच्चे’ स्थानीय तह हो। ८५.५७ वर्ग किलोमिटर मात्रै क्षेत्रफल ओगटेर नगरपालिका बन्दा यहाँ न प्रशासन चलाउने संरचना थियो, न गाभिएका गाविसहरूसँग पर्याप्त स्रोत नै थिए।

अधिकांश मानिस कृषिमा आधारित भए पनि व्यावसायिक कृषि नगण्य थियो। थारु समुदायको बसोबास बढी रहेको यस क्षेत्रमा शिक्षा, स्वास्थ्यको अवस्था कमजोर थियो। उद्योग, पर्यटन लगायत क्षेत्रले प्रचुर सम्भावना भएर पनि गति लिन सकिरहेका थिएनन्। २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि भने खैरहनी नगरपालिकाले विकासको गति लियो।

निर्वाचित भएर आएका जनप्रतिनिधिको परिपक्व कामले खैरहनी जिल्लामा मात्रै नभएर देशमै उत्कृष्ट नगरपालिका बन्न सफल भएको स्थानीय बताउँछन्। नगर प्रमुख चौधरीको नेतृत्वमा रहेको खैरहनी नगरपालिकाले बितेको पाँच वर्षमा स्थानीय तह संस्थागत क्षमता विकास स्वमूल्यांकनमा देशभरकै उत्कृष्ट बन्दा चितवन प्रथम भयो। सूचना प्रविधि लेखाजोखा मूल्यांकनमा पनि खैरहनी उत्कृष्ट बन्यो।

खैरहनी नगरपालिकाले युवाहरूलाई गरेको प्रोत्साहन र यहाँका युवाले पाएको सफलताका आधारमा युवा प्रतिभा पुरस्कार पनि जित्यो। स्थापना हुँदा ९८ लाख रुपैयाँको मात्र स्रोत रहेको खैरहनीसँग अहिले १७ करोडभन्दा बढीको स्रोत तयार भइसकेको छ। यसले आन्तरिक स्रोत परिचालन गरेर स्थानीय विकास निर्माण तथा अन्य गतिविधि सञ्चालन गर्न नगरपालिकालाई सघाउ पुगेको छ।

नगरपालिकाका निवर्तमान प्रमुख लालमणि चौधरीले प्रशासन चुस्त बनाउँदै कृषि, उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछन्। ‘विगतमा गाविस हुँदा अधिकार कम थियो। साना-साना गाविसहरूमा बजेट पनि कम हुन्थे, केन्द्रसम्म पहुँच थिएन, त्यसैले सम्भावना भएर पनि हाम्रो ठाउँ पछि पर्दै आएको थियो,’ चौधरीले भने, ‘नयाँ संविधानले स्थानीय तहको अधिकार बढायो । नगरपालिका बनेपछि त्यहीअनुरूप बजेट पनि प्राप्त हुन थाल्यो, अहिले हाम्रो ठाउँमा विकासको लहर आउँदै छ।’

खैरहनी नगरपालिकाले हरेक निर्णय सर्वसम्मत गर्न सफल हुनुलाई पाँच वर्षे कार्यकालको सबभन्दा ठूलो उपलब्धि मानेको छ। नयाँ नगरपालिकामा पहिलो पटक जनप्रतिनिधि भएर आएकाहरूका लागि भौतिक र प्रशासनिक संरचना तयार पार्नु, आर्थिक गतिविधि चुस्त पार्दै स्रोत बढाउनु र सेवा प्रवाह प्रभावकारी बनाउनु ठूलो चुनौती थियो। पाँच वर्षे कार्यकालमा यो चुनौती पनि पार गरेको चौधरी बताउँछन्।

नगरपालिकाभित्र सहकारी संस्थासँग समन्वय गरेर धान, मकै, गहुँ प्रशोधन केन्द्र, पशु दाना मिल, मह प्रशोधन केन्द्र, दूधजन्य पदार्थ उत्पादन गर्ने प्लान्ट, शितभण्डार, तरकारी बजार, हाटबजार व्यवस्थापन गरेर कृषिको बजारीकरणका लागि काम गरेको निवर्तमान प्रमुख चौधरीले बताए। यसबाहेक कृषिमा आधुनिकीकरणका लागि किसानहरूलाई मेसिन, बीउमा अनुदान दिइएको उनले बताए। पशुपालनमा अनुदानको व्यवस्था र किसानलाई निःशुल्क कृषि बिमाको व्यवस्था पनि गरिएको उनले जानकारी दिए।

पूर्वाधारमा ठूलो सफलता

खैरहनी नगरपालिकाले पाँच वर्षमा ६ वटा ठूला पुल आन्तरिक बजेटबाटै निर्माण गरेको छ। आन्तरिक स्रोतबाटै साना कल्भर्टहरू दर्जनौं बनेका छन्। ४० किलोमिटरभन्दा बढी नाला र ६० किलोमिटरभन्दा बढी सडक कालोपत्रे गरेको छ। विद्यालय भवन, १३ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र बनाएको र १५ शैय्याको नगरस्तरीय अस्पताल निर्माणाधिन अवस्थामा छ।

नगरपालिकाले २८ परिवार मुसहरका लागि घर बनाइदिएको छ। २८ घर रहेको सुकुम्वासी बस्ती स्थानान्तरण गरेर उनीहरूका लागि घर बनाइदिएको हो। उनीहरूको जीविकोपार्जनका लागि बाख्रा पालन, कृषि, घरेलु उद्योगजस्ता आयआर्जनका गतिविधिमा पनि नगरपालिकाले सघाएको छ। पाँच वटा खोला यो नगरपालिकालाई चिरेर बगेका छन्। ती खोला नियन्त्रण गर्नु खैरहनीका सामु ठूलो चुनौती छ। मेयर चौधरीले खोला व्यवस्थापनका लागि भारतीय दूतावाससँग समन्वय गरेर काम अगाडी बढाएको छ।

चौधरीले आफ्नो पाँच वर्षे कार्यकालमा विद्यालयको भौतिक संरचना निर्माणका लागि काम गरेको भन्दै अब शैक्षिक गुणस्तर विकासमा केन्द्रित हुनुपर्ने बताए। भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिका केही संकेत देखिन थालेको उनले बताए। उनकाअनुसार नगरपालिकामा हाल एमबिबिएस डाक्टर मात्रै रहेकामा अब कम्तीमा एक जना विशेषज्ञ डाक्टरसहित चार जना डाक्टर एक्स-रे, भिडिओ एक्स-रेसहितको सेवा सुरु भएको छ।

नगरपालिकाका कार्यवाहक नगर प्रमुख समेत रहेकी सुनिता खरेल थपलियाले प्रमुख, उपप्रमुख, वडाध्यक्ष, निर्वाचित अन्य जनप्रतिनिधि र कर्मचारीको ‘टिम’ मिल्दा काम गर्ने वातावरण बनेको बताउँछिन्। टोल विकास समितिदेखि माथिका सबैले मिलेर काम गर्दा नगरपालिका नयाँ भए पनि पुरानाले भन्दा राम्रो काम गर्न सकेको उनको दाबी छ। ‘सबैले ऐन, नियमलाई टेकेर आफ्नो जिम्मेवारी पूरा गर्दा जनताले पनि राम्रो सेवा पाए, नगरपालिकाको प्रतिष्ठा पनि बढ्दै गयो,’ उनले भनिन्, ‘यो पाँच वर्षमा हामी नगरपालिकामा सिस्टम बसाउनमा सफल भएका छौं। यो जगमा टेकेर अबको पाँच वर्षमा धेरै राम्रो नतिजा दिन सकिन्छ।’

पुनः नगर प्रमुखको दौडमा चौधरी

खैरहनीका संस्थापक नगर प्रमुख समेत रहेका लालमणि चौधरी दोस्रो कार्यकालका लागि नगर प्रमुखको दौडमा छन्। गठबन्धन उनका लागि चुनौती भए पनि पाँच वर्षमा विवादरहित तरिकाले काम गर्दा उनलाई भरोसा गर्ने धेरै छन्। त्यसैले पनि उनलाई यो निर्वाचन सहज हुन सक्छ। पुनः नगर प्रमुखको उम्मेदवारी दिएका चौधरीले निर्वाचित भएमा केही लोककल्याणकारी कार्यक्रमलाई अघि सार्ने योजना बनाएका छन्।

पूर्वाधारको काम धेरै भइसकेको भन्दै उनले जनता लक्षित कार्यक्रम आवश्यक रहेको उनको बुझाई छ। उनले आगामी कार्यकालमा ५ सय गरिब विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने योजना बनाएका छन्। ‘स्वास्थ्य उपचारकै लागि धेरै मान्छे आर्थिक अभावमा भौँतारिरहेका पाइन्छ,’ चौधरी भन्छन्, ‘नगरपालिकाले त्यस्ता गरिब, विपन्न परिवारको बिमा गरिदिएमा धेरै समस्या समाधान हुन्छ।’ त्यस्तै मिर्गौला रोगीका लागि मासिक पाँच हजारको व्यवस्था गर्ने, १० हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको महसुस नगरपालिकाले तिर्ने व्यवस्था मिलाउने उनको योजना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्