‘हाईमास्ट’ सडक बत्ती जडानपछि उज्यालो महानगरको अभियानले सफलता पाउंँदै

Capture pic
लोकपाटी न्यूज
4 Shares

चितवन। भरतपुर महानगरपालिकाका मुख्य चोकहरुमा हाईमास्ट प्रविधिको सडक वत्ती जडान कार्य जारी छ। महानगरको मुख्य चोकहरु केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, क्याम्पस गेट, पुल चोकमा वत्ति बलिसकेको छ। आँपटारी, मालपोत चोक, पोखरा बसपार्क र शहिदचोकमा आज साँझ सम्ममा बत्ति वाल्ने तयारी महानगरको छ।नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ति प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आउनु भएका शिशिर लम्सालका अनुसार १६ मिटर अग्लो पोलमा आठ वटा बत्ती जडान गरिएको छ।

२ सय वाटका ती बत्ती दुई तर्फ फर्काउन सकिने प्रकृतिका छन्। एक स्थानमा बत्ती जडान गर्नका लागि रु ९ लाख १० हजार खर्च भएको उनले बताए। यस्तै महानगरका अन्य चोक र बजारमा समेत साना खालको हाईमास्ट बत्ती जडान गरिने उनले जानकारी दिए। भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो।

अहिले सडक बत्तीका लागि ८० प्रतिशत पोल गाड्ने र तार टाँङ्ने काम सम्पन्न भएको उनले जानकारी दिए। यस अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९ सय ३३ वटा बत्ति जडान गरिने छ। भरतपुर महानगरपालिकाको शुक्रनगरबाट काम थालिएको हो। मूल्य अभिबृद्धि कर सहित रु ११ करोड ४९ लाख ८९ हजार ३ सयमा ठेक्का सम्झौता भए संगै सेफ स्टिल-सूर्योदय उर्जा-टपसन जेभि कम्पनीले काम गरिरहेका छन्।

महानगरपालिकालाई सुरक्षा र सुन्दरताको हिसाबले भरतपुरलाई नेपालकै उत्कृष्ट शहर बनाउन उज्यालो शहर अभियान सञ्चालन गरेको हो। निवर्तमान भरतपुर महानगर प्रमुख रेनु दाहालको सक्रियतामा यो काम सुरु भएको थियो। यी बत्ती जडानको काम सकिएसंगै महानगरका मुख्य शहर र चोकहरुमा हुन सक्ने घटना नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिईएको छ। बाँकी सडकहरुलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाउने महानगरको योजना रहेको छ। लामो समय देखिको गृहकार्य र पहल कदमीका कारण काम हुन सकेको दाहालले बताइन्।

अन्य प्रमुख सडकहरुको समेत सर्भे गरेर प्राधिकरणमा पठाईएको छ। विद्युत् प्राधिकरण भरतपुर बितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले उज्यालो सहर अभियानमार्फत् महानगरमा रातको समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडानले महत्वपूर्ण काम गरेको बताउँछन्।

हाकिम चोक–गितानगर–जगतपुर सडक खण्डको १८ दशमलब ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन्। चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलव ८ किलोमिटर सडकखण्डमा ५६९, मंगलपुर देखि शुक्रनगर सम्मको २२ दशमलब १३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बंगलासम्मको २ दशमलव ४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडक बत्ती जडान हुनेछ। दियालो बंगलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलब ८६ किलोमिटर सडक खण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलब १७ किलोमिटर सडक खण्डमा ५० बत्ति र विरेन्द्र क्याम्पस चोकदेखि बिशालचोकसम्मको १ दशमलब २६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्