पाँच कार्यकर्तामाथि काँग्रेसको कारबाही

लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनविरुद्ध क्रियाकलाप गरेको भन्दै चितवनको भरतपुर नगरपालिकाका आफ्ना पाँच जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ। काँग्रेसले आज एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ।

काँग्रेसले कारबाही गरेका भरतपुरका पाँच जना नेता कार्यकर्तामा पूर्व सांसद भिमबहादुर श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भुप्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, नेपाल तरुण दल चितवनका पूर्व जिल्ला सचिव आनन्दराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेल रहेका छन्।

विज्ञप्ति अनुसार काँग्रेस जिल्ला कार्यसमिति चितवनले उनीहरू काँग्रेसको केन्द्रीय निर्देशन एवं पाँच दलीय गठबन्धनका उम्मेदवारहरूका विरुद्धमा सक्रिय रही पार्टीको विधान र अनुशासनभन्दा बाहिर रहेर कार्य गरेको हुँदा तत्काल लागु हुनेगरी पार्टी सदस्यबाट निलम्बन गर्न सिफारिस गरेको थियो। सोही अनुसार पार्टीले उनीहरूलाई निलम्बन गरेको विज्ञप्तिमा जनाइएको छ।