अब भ्यु टावरलाई दिइने छैन बजेट

Sahari_Bikash_Mantralay_pic
लोकपाटी न्यूज
3 Shares

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेटमा भ्यु टावरका बजेट कटौती गर्ने नीति लिएको छ। विकास निर्माणको नाममा छुट्याइएको बजेट भ्युटावर, स्वागतद्वार, सभाहलजस्ता क्षेत्रमा खर्च भएपछि सरकारले यसमा कडाइ गर्ने नीति लिएको हो।

सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको हो। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्युटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताइन्। अहिलेको आवश्यकता सडक तथा पूर्वाधार निर्माण भए पनि भ्युटावरहरूमा बजेट खर्च भएको भन्दै अब बजेट नथपिने उनको भनाइ छ।

मन्त्री झाक्रीले सञ्चालनको मापदण्ड नभएको र असिमित दायित्व सिर्जना गर्ने भएकाले भ्युटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने बताएकी छन्।

‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्युटावर र सभाहल निर्माणको कार्यक्रमबाट बाहिरिन्छौं। राज्यको असिमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्। अर्को कुरा यसको सञ्चालनको मोडालिटीसमेत छैन,’ उनले भनिन्।

मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने उनको भनाइ छ। अग्ला हिमाल पहाडलगायत विकासका नाममा जताततै भ्युटावर धमाधम बन्न थालेपछि सरकारको समेत विरोध हुँदै आएको छ। सहरी मन्त्रालयले नीतिगत रूपमा नै अबदेखि भने त्यस्ता कार्यक्रमलाई प्राथमिकता नदिने नीति अवलम्बन गर्न लागेको हो।

सहरी मन्त्रालयले एकीकृत वस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने जनाएको छ। एकीकृत वस्ती विकासका कार्यक्रमको प्रभावकारिता नदेखिएको भन्दै मन्त्रालय यो कार्यक्रमबाट पनि पछि हट्न लागेको हो। मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर वस्ती विकास कार्यक्रम ल्याइने बताएकी छन्। यो समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्