म्याग्दीका स्थानीय तहमा प्रमुखमा महिला जनप्रतिनिधिको संख्या शून्य

Beni Bazzar
लोकपाटी न्यूज
2 Shares

म्याग्दी। म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला जनप्रतिनिधिको संख्या शून्य भएको छ। वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिएका थिए। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन्। अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारमा महिलाको संख्या बढे पनि विजयी हुन नसकेकाले स्थानीय तह र वडाको नेतृत्वमा महिलाको अवस्था कमजोर बनेको हो।

अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा कांग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा कांग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बन्नुभएको थियो। यसपटक पालिका प्रमुख–अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यसपटक म्याग्दीको स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए। रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बनेका थिए।

त्यसैगरी मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगङ्गा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए। पालिका र वडाको नेतृत्वमा उम्मेदवार बन्नुभएका ६ महिला नै पराजित भएक छन्। हरेक स्थानीय तहमा एउटै पार्टीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउँदा एक पदमा महिला अनिवार्य भए पनि धवलागिरि गाउँपालिकामा गठबन्धनका कारण अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्