कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ : प्रचण्ड

Prachand
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन्। बर्दियामा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताए।

पार्टीको कार्यक्रममा सोमबार दाहालले कार्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको उनको भनाइ छ। उनले चुनाव मंसिरमा हुने कुरामा कसैले पनि द्विविधा राख्न नपर्ने बताए। एमालेले पनि मंसिरको पहिलो वा कार्तिकको अन्तिममा नै चुनाव हुनुपर्ने बताइरहेको उनले बताए।

‘प्रतिपक्षको पनि मंसिरको पहिलो हप्ता वा कात्तिकको अन्तिममा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ। प्रधानमन्त्री लगायत गठबन्धनमा हामीले छलफल गर्दा मंसिरको पहिलो हप्तामा हुने नै बढी सम्भावना छ,’ प्रचण्डले भने, ‘त्यसकारण हामी कोही पनि कन्फ्युजन हुन पर्दैन, चुनाव मंसिरमा हुन्छ।’

उनले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भई नसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए। ‘एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ। स्थानीय तहको निर्वाचन एकै पटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ। सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको छ। जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्