सैन्य सम्झौता कुनै हालतमा अघि बढ्दैन : प्रचण्ड

Prachand
लोकपाटी न्यूज
12 Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने घोषणा गरेका छन्। दोलखका माओवादी नेता रितबहादुर खड्काको स्मृति पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो घोषणा गरेका हुन्।

प्रचण्डले पूर्ववर्ती सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताए। सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको उनले बताए। तर, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो सम्झौतामा कुनै पनि हालतमा हस्ताक्षर नगर्ने बताएको उन उल्लेख गरे।

‘राष्ट्रवादको पाखण्डी प्रचार गरेको हामीले हिजो पनि देखेको छ। एसपीपी हुँदैछ रे भनेर प्रचार गर्‍या छ,’ प्रचण्डले भने, ‘त्यो बिल्कुल झुटो हो त्यो। त्यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन। म घोषणा गर्न चाहन्छु। प्रधानमन्त्रीज्युले कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर कमिटमेन्ट गरिसक्नु भएको छ। कोही भ्रममा पर्नुपर्दैन। बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको इतिहास छ।’

उनले एसपीपीबारे जनतामा भ्रम छर्ने काम भइरहेको बताएका थिए। उनले यस्तो कुरामा गठबन्धन कुनै हालतमा नलाग्नेसमेत बताए। उनले अहिलेको गठबन्धन राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने बताए। ‘यो कुरा सबैले बुझ्न जरुरी छ। तर हाम्रो गठबन्धन त्यस्तो कुरामा लाग्दैन। हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन्छ,’ प्रचण्डले भने।

उनले गठबन्धन भएपछि प्रतिगमन परास्त भएको टिप्पणी पनि गरे। प्रचण्डले स्थानीय निर्वाचन सम्पन्न गरेर संविधानको रक्षा आफूहरूले गरेको दाबी गरे। ‘गठबन्धन गरेपछि प्रतिगमनको प्रवृत्ति परास्त भयो,’ उनले भने, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ, मैले प्रतिनिधिसभामा बोल्दा भनेको छु, यो निर्वाचनमा हाम्रो लागि र माओवादी केन्द्रको अध्यक्षको हैसियतले कुन पार्टीले कति जित्यो भन्ने ठूलो कुरा होइन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्