एसपीपी खारेज गर्नुको विकल्प छैन, खारेज गरिन्छ : प्रचण्ड

Prachand
लोकपाटी न्यूज
9 Shares

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले एसपीपी जस्तो विषय खारेज गर्नुको विकल्प नरहेको बताएका हुन्।

‘एसपीपी र एमसीसी केपी ओलीको करामत हो,’ उनले भने, ‘अब यो क्लियर भइसक्यो। एमसीसी १२ बुँदे घोषणापत्रसहित पारित भयो। तर, एसपीपीमा त्यो हुनेवाला छैन। खारेज हुन्छ, गरिनु पर्छ।’

वाम गठबन्धनको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले अहिलेकै गठबन्धन संघीय निर्वाचनसम्म जाने उल्लेख गरे। बाहिर मिडियामा आएजस्तो कुनै पनि वाम गठबन्धनको विषयमा कुरा अगाडि नबढेको स्पष्ट पारे।