जितेको पालिकामा भ्रष्टाचार नियन्त्रण गर्ने एमाले जनप्रतिनिधिको प्रतिवद्धता

लोकपाटी न्यूज
2 Shares

काठमाडौं । नेकपा एमालेका जनप्रतिनिधिहरूले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने सङ्कल्प गरेका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं सङ्कल्प पत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ ।

आफूले कुनै भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्प २० बुँदे सङ्कल्प पत्रमा लेखिएको छ । एमाले जनप्रतिनिधिले आफूहरूले नेतृत्व गरेको पालिकाहरू सुशासनका नमूना बनाउने पनि प्रतिवद्धता जनाएका छन् ।

जनप्रतिनिधिहरूसँग अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँगको एसपीपीमा सहभागी नुहने भनेर आफ्नो नेतृत्वको सरकारले टुङ्ग्याएको दावी गर्नुभएको छ । जनप्रतिनिधिको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो बिषय पहिले नै टुंगो लागिसकेको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले तत्कालीन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सामेल हुन अमेरिकी दूतावासलाई पत्र लेखेपनि आफुलाई कुनै जानकारी नदिएर गुमराहमा राखेको गुनासो गर्नुभयो ।

अहिले भ्रम फिँजाएर माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले केपी ओलीको नेतृत्वमा एसपीपी कार्यान्वयन गरेको भनेर बेइमानी गरेको आरोप पनि उहाँले लगाउनुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी पनि गर्नुभयो । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्