नेकपा एस र जनता समाजवादीबाट हेरफेर हुँदै मन्त्री

samajbadi-jasapa
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन्। सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भएपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ। एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ भने आन्तरिक विवादमा फसेको जसपाको दुवै समूहले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिसकेका छन्।

जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद बढेको छ। दुवै पक्ष पार्टी विभाजन हुन सक्ने भन्दै बहुमत आफ्नोतर्फ पार्न सांसद तानातानमा रहेका छन्। बालुवाटार स्रोतका अनुसार यादव र भट्टराई दुवैले प्रधानमन्त्रीलाई भेटेर आफूले सिफारिस गरे अनुसार मन्त्रिपरिषद् हेरफेर गर्न आग्रह गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धन प्रभावित हुने गरी जसपाको आन्तरिक राजनीतिमा प्रवेश नगर्न प्रधानमन्त्रीलाई सुझाव समेत दिएका छन्। माओवादीका नेता नारायणकाजी श्रेष्ठले भने पार्टीका तर्फबाट मन्त्री हेरफेर गर्ने विषयमा छलफल नभएको बताएका छन्। त्यस्तै, यता नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पनि मन्त्री हेरफेर गर्ने विषयम पार्टीमा छलफल नभएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्