गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अघि बढाइने छ : प्रधानमन्त्री देउवा

Sher_Bahadur_Deuba
लोकपाटी न्यूज
6 Shares

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माणाधीन अवस्थामा रहेको गेटा मेडिकल कलेज (प्रस्तावित) लाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शनिबार धनगढी उपमहानगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहमा बोल्दै उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने जनाएका हुन्।

गेटा मेडिकल कलेज सञ्चालनका लागि पछिल्लो समय दबाब बढेको बताउँदै प्रधानमन्त्री देउवाले त्यसलाई प्रतिष्ठानको रुपमा विकास गरिने बताए।
‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ ’उनले भने ‘यो विषय उठाइदिनु भएकोमा धन्यवाद। ’उद्घाटन समारोहमा धनगढीका मेयर गोपाल हमालले गेटालाई विश्व विद्यालय वा प्रतिष्ठानका रूपमा अगाडी बढाउनु पर्ने बताएका थिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम प्रदेशमा विकासले गति पाइरहेको समेत उल्लेख गरे। ‘म धनगढीबाट रेल चढेर काठमाडौँ पुगेको थिए । अहिले प्रत्येक दिन विमान आएको छ। छिट्टै पुगिन्छ। कर्णाली पारि ७ बजे पछि जान पाइने थिएन। अहिले २२ वटा पुल भएको छ। तर, विकास पुग्दैन। महत्त्वपूर्ण कुरा भएको छ’ उनले भने। प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्रमिक रुपमा विकासको गतिमा अघि बढिरहेको बताए।