काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रकृति संरक्षणलाई ध्यानमा नराखी संरचना निर्माण गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गरेका छन्।
व्यास नगरपालिका र डिभिजन वन कार्यालयद्वारा व्यास-३ स्थित बिपी वनवाटिकामा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका सहरहरू अत्यन्तै अव्यवस्थित ढंगले विकास गरिएको बताए। व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकालाई प्रकृतिमैत्री बनाउने अभियान थालिएको बताए।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, प्रदेश सांसद सरिता गुरुङ, शुक्लागण्डकी नगर प्रमुख कृष्णराज पण्डितलगायतले वृक्षारोपण गरेका थिए। गुलमोहर, असारे र चेरीका २१ बिरुवा रोपण गरिएको डिभिजन वन प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। -रासस