संघीयता उल्ट्याउन खोज्ने प्रवृत्ति कायमै छ : प्रचण्ड

prachanda
लोकपाटी न्यूज
6 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीयता लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने प्रवृत्ति अझै कायमै रहेको बताएका छन्। काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक दल, नागरिक समाज र सबै मिलेर ल्याएको परिवर्तन उल्ट्याउन खोज्ने प्रवृत्ति कायमै रहेको बताए।

प्राप्त परिवर्तनलाई संस्थागत गर्दै संविधानलाई अझै परिमार्जन गर्ने, ऐनलाई परिमार्जन गर्ने बाटोमा आफूहरू रहे पनि कर्मचारीभित्र पनि विकास सम्बन्धित कुरा सम्बोधन हुन नदिने प्रवृत्ति कहीँ न कहीँ रहेको उनले बताए। ‘संघीयतालाई कमजोर पारेर उल्ट्याउन खोज्ने प्रवृत्ति कहीँ न कहीँ कायमै छ। कर्मचारी महासंघ, यो क्षेत्रको नेताहरूसँग पार्टीले हामीलाई चिन्दैन भन्ने छ, त्यतातिर आफ्नो ध्यान दिन आग्रह छ,’ उनले भने।

कर्मचारीहरूको सक्रियताका बिना परिवर्तन सम्भव नहुने धारणा राख्दै उनले पार्टी र कर्मचारीबिचमा सम्बन्ध सुदृढ हुनुपर्नेमा जोड दिए। अध्यक्ष प्रचण्डले संगठनभित्रका समस्या, कमजोरीलाई सुधार गर्ने उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए। उनले संघीय निजामती ऐनका लागि गठबन्धनमा सहमति जुटाउने आश्वासन पनि दिए।

प्रचण्डले कर्मचारीतन्त्रकै माथिल्लो अफिसरले ऐन रोकेर राखेको बताए। उनले भने, ‘सदनको बैठकबाट पारित गरेर गएको छ। लामो समयदेखि प्रधानमन्त्रीको कार्यालयमा रहिराखेकै अवस्था छ। र, त्यसलाई अगाडि बढाउने सम्बन्धमा कर्मचारीतन्त्रको माथिल्लो तहको अफिसरबाट नै केही न केही व्यवधान भइराखेको छ। हामी बल गर्दैछौं।’

ऐन अगाडि बढाउन र स्थानीय तहमा काम गर्ने कर्मचारीहरूलाई वृद्धि विकाससम्बन्धी कर्मचारी ऐन निर्माण गर्ने र लागू गर्ने कुरामा आफ्नो ठाउँबाट आवाज उठाइरहन उनले आग्रह गरे। ‘गठबन्धनको बैठकमा म यो विषय राख्नेछु,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्