निजामती ऐन माथिल्लो तहका कर्मचारीले रोके : प्रचण्ड

Prachand
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र पनि रहेको टिप्पणी गरेका छन्।

जनताका पक्षमा राजनीतिक नेतृत्वले गरेका कामलाई प्रभावकारीरुपमा कार्यान्वयन हुन नदिने तथा त्यसको मर्मलाई आत्मसात् गर्न नचाहने प्रवृत्तिकाविरुद्ध कर्मचारीले नै सकारात्मक हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ। नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रको यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न कर्मचारीभित्रै अभियान चलाउनुपर्ने र सशक्त प्रतिवाद गर्नुपर्ने बताए।

परिवर्तन संस्थागत गर्ने संघर्षमा हामी सबैको साझा प्रयास र संकल्प आवश्यक रहेको उनको भनाइ छ। विगतमा विभिन्न कारणले फरक फरक कित्तामा रहेका पूर्वमाओवादी क्रमशः एक ठाउँमा उभिने वातावरण बन्दै गएकामा प्रचण्डले प्रसन्नता व्यक्त गरे।

त्यस अभियानलाई क्रमशः सफलतामा पुग्ने वातावरण सिर्जना भएको तथा त्यसले विस्तारै सफलता हासिल गर्ने उनले विश्वास व्यक्त गरे। पार्टी टुटफुट हुँदा विभिन्न समूहमा विभक्त भएका पूर्वमाओवादी क्रमशः एकीकृतरुपमा अगाडि बढ्ने वातावरण कर्मचारी संगठनमा पनि बनेकामा अध्यक्ष प्रचण्डले खुसी व्यक्त गरे।

संघीय निजामती विधेयकलाई कर्मचारीकै माथिल्लो तहबाट अवरोध भएको भन्ने सूचना आफूले प्राप्त गरेको भन्दै उनले त्यस प्रवृत्तिका विरुद्ध दबाव दिन कर्मचारीलाई अनुरोध गरे। अध्यक्ष प्रचण्डले संगठन निर्माण गर्दै त्यसलाई गतिशील बनाउन आग्रह गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्