समाजसेवा गर्न इच्छाशक्ति हुनुपर्छ : खिलाराज रेग्मी

KhilRaj_Regmi
लोकपाटी न्यूज
4 Shares

काठमाडौं। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहेको बताए।

‘मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ,’ उनले भने। उनले समाजभित्र देखिने विकृति, विसंगति, भ्रष्टाचार अन्त्यका लागि संघसंस्थाले राज्यलाई घचघच्याउनुपर्ने बताए।

पूर्वअर्थमन्त्री तथा साहित्यकार शंकरप्रसाद कोइरालाले सरकार नपुगेको दुर्गम ठाउँमा सामाजिक संघसंस्था पुग्ने गरेको बताउँदै समाज विकासका लागि सामाजिक संस्थाको ठूलो भूमिका रहेको बताए। सामाजिक संघसंस्थाले संगठित नागरिकको भूमिका खेलेको उनको भनाइ थियो।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले सरकार र नागरिकबीचको सम्बन्धलाई सामाजिक संघसंस्थाले नजिक बनाएको बताए। सो अवसरमा सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्