सर्त पूरा नगरेका दललाई आगामी चुनावमा सहभागी गराउँदैनौं : आयोग

लोकपाटी न्यूज
8 Shares

काठमाडौं। निर्वाचन आयोगले संविधान र कानुनले तोक बमोजिमका सर्त एवं आयोगको कार्यविधि पूरा नगरेका राजनीतिक दललाई निर्वाचनमा भाग लिन नपाउने गरी निर्णय गर्न सक्नेबारे सचेत गराएको छ। आयोग पदाधिकारीको यही असार १ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।

निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले गरेको व्यवस्था पालना गराउन यस प्रकारको निर्देशन दिएको जानकारी दिए। आयोगको निर्देशन बमोजिम दर्ता भएका राजनीतिक दलले असार मसान्तभित्रै नाम, विधान, नियम, छाप, झन्डा, चिह्नमा परिवर्तन वा संशोधन भएको वा पदाधिकारी हेरफेर भएको विवरण अद्यावधिक गर्नुपर्ने हुन्छ।

उपन्यायधिवक्ता वाग्लेले विवरण अद्यावधिक नगर्ने राजनीतिक दलले चुनाव प्रयोजनका लागि दल दर्ता गरे पनि आयोगले निर्वाचनमा भाग लिन नपाउने निर्णय गर्न सक्ने चेतावनी दिए। ऐनअनुसार राजनीतिक दलले पाँच वर्षमा एक पटक महाधिवेशन गरेको हुनुपर्छ।

त्यसैगरी ऐनले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्ने, केन्द्रीय समिति समावेशी हुनुपर्ने र केन्द्रीय समितिमा एक तिहाइ महिला सदस्य हुनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगमा हाल ११२ राजनीतिक दलको दर्ता कायम छ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भने ७९ दलले मात्रै भाग लिएका थिए। जसमध्ये २४ राजनीतिक दलका प्रतिनिधि स्थानीय तहमा निर्वाचित भएका छन्। उपन्यायाधिवक्ता वाग्लेले उक्त निर्देशनपछि आयोगलाई राजनीतिक दलको अवस्था बुझ्न सहज हुने र सक्रिय नरहेका राजनीतिक दलको हकमा आवश्यक कारबाही गर्न सकिने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्