अखिल क्रान्तिकारीका १० नेता निलम्बनमा

pic
लोकपाटी न्यूज
9 Shares

काठमाडौं। अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की पक्षधर १० जना विद्यार्थी नेताहरू कारबाहीमा परेका छन्। आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो।

संगठनको हितविपरीत काम गरेको उनीहरूलाई अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले जानकारी दिए। आइतबार बसेको बैठक हलमा होहल्ला गरी हात हालाहालको स्थिति सिर्जना भएको थियो।

कार्की पक्षले अध्यक्ष पञ्चा सिंहको निर्णयमाथि प्रश्न उठाएका थिए। उपाध्यक्ष कार्कीसहित कारबाहीमा पर्नेमा केन्द्रीय सदस्यहरू प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी, पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन्।

कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको राजीनामा मागेको छ। कार्कीसहितका विद्यार्थी नेताहरूलाई बाहिर निकालेपछि आइतबार अबेर गरी क्रान्तिकारीको बैठक सुरु भएको थियो। बैठकले अखिल क्रान्तिकारीका सदस्य संख्या १२ लाख पुर्‍याउने निर्णय गरेको उनले बताए।