बाजुराका कृषकलाई बाख्रा वितरण

लोकपाटी न्यूज
4 Shares

राजेन्द्र बिक

बाजुरा। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५ मनामा पशुपालक कृषकहरूलाई बाख्रा वितरण गरिएको छ। पशु सेवा विज्ञ केन्द्र बाजुराको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत कृषकहरूलाई आधुनिक तरिकाले बाख्रा पालन गरी गाउँमै रोजगारी सिर्जना गराउने र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ३७ कृषकलाई २/२ बाख्रा र ६ कृषकलाई १/१ बोका वितरण गरिएका छन्।

गाउँ भरिका बाख्राहरूको नश्ल सुधारका लागि स्थानीय जातका बाख्रा तथा उन्नत जातका बोकाहरू वितरण गरिएको पशु सेवा विज्ञ केन्द्र बाजुराका सिद्धराज जैशीले बताए। बाख्रा पालन व्यवसायका लागि आवश्यक प्रशस्त जंगल र उपयुक्त वातावरण भएकाले बाख्रा पालन व्यवसायको उच्च सम्भावनालाई मध्यनजर गरी बाख्रा पालक कृषकहरूको स्तरोन्नति तथा व्यावसायिक तवरले जीविकोपार्जनका लागि बडिमालिका नगरपालिका ५ को मना जिल्ला भरिकै एक मात्र बाख्रा ब्लक कार्यक्रम सञ्चालन भइरहेको गाउँ भएको पशु सेवा विज्ञ केन्द्र बाजुराले जनाएको छ।

बडिमालिका नगरपालिका पशु सेवा शाखा प्रमुख गोपालचन्द्र भण्डारीका अनुसार बाख्रा वितरणले कृषकहरूलाई व्यावसायिक बाख्रा पालनमा उत्प्रेरित गराइ आयआर्जनमा टेवा पुर्‍याउनेछ। पशु सेवा विज्ञ केन्द्र बाजुराले ३०लाखको लागतमा मना गाउँमा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरिरहेको छ। बाख्रा ब्लक कार्यक्रम अन्तर्गत हाल मनामा बाख्रा वितरणसहित प्रत्येक कृषक ३ लाखका दरले ७ कृषकका लागि ७ वटा आधुनिक खोर निर्माणसमेत गरिसकेको छ।

बाख्रा ब्लक कार्यक्रम सञ्चालनले स्थानीय बाख्रा पालक कृषकहरू निकै खुशी भएका छन्। आधुनिक तरिकाले बाख्रा पालनको महत्त्वबारे जानकारी प्राप्त हुनुका साथै बाख्रा पनि पाएका कारण आफूमा व्यावसायिक बाख्रा पालनमा लाग्न उत्प्रेरणा जागेको स्थानीय कृषक हंश साउँदले प्रतिक्रिया दिए। बाख्रा ब्लक कार्यक्रम अन्तर्गत अबका एक दुई दिनभित्रै गाउँभरिका बाख्रामा छालासम्बन्धी भित्री रोग र बाह्य रोगको निदान गर्न आइभर मेक्टृन खोप लगाउने तथा जुकाको औषधि समेत खुवाइने योजना विज्ञ केन्द्र बाजुराको रहेको नायब पशु स्वास्थ्य प्राविधिक बल रावलले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्