आज विश्व योग दिवस मनाइँदै, यस्ता छन् योगका फाइदा

Yoga practise-1
लोकपाटी न्यूज
7 Shares

काठमाडौं। आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘मानव जीवनका लागि योग’ भन्ने नारासहित अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो। हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ। योगलाई शताब्दी विकासको सूचकांकका रुपमा समेत लिइएको छ। व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै दिवस मनाउन थालिएको हो।

विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउन थालिएको हो। नेपालका अभियानकर्मीले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए।

नेपाल सरकारले २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। योगको अर्थ जोड्नु हो। योगक्रियाले मानिसको चेतना र शरीरबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ। मन र मस्तिष्कको सम्बन्धलाई योग भनिने र योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ। योगलाई ध्यानको आधार पनि मानिन्छ । हजारौं वर्ष पहिले पतञ्जली नामका ऋषिले शुरुवात गरेको योगमा १९५ वटा योगसूत्र समाहित छन्।

योगसूत्रको श्रेय भने आदियोगी भगवान शिवलाई नै दिइन्छ। शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको विश्वास गरिन्छ। योगले डर चिन्ता, उदासिनतासँग लड्न र मानसिक रुपमा समेत स्वस्थ्य रहन सहयोग गर्ने योग तथा प्राकृतिक चिकित्सकहरु बताउँछन्। योगले मानसिक तनाव कम गर्न, रक्तचाप, मधुमेहजस्ता रोग नियन्त्रण गर्न तथा शरीरमा पोषक तत्त्व पुर्याउन र टक्सिन हटाउन पनि सहयोग गर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका अनुसार योगले स्ट्रेचिङ र श्वासको माध्यमबाट शरीरको विशाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ भने शरीरमा रक्तसञ्चार सन्तुलनमा राख्दछ। जोर्नी, हड्डी तथा मांसपेशीलाई लचिलो एवं मजबुत बनाउन र मस्तिष्कलाई शान्त राख्न पनि योगको भूमिका रहन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्